यातायात व्यवसायीले आन्दोलन फिर्ता नलिए प्रतिरोध गर्ने वाइसीएलको चेतावनी

0
44

सरकारले सार्वजनिक यातायात क्षेत्रको सिन्डकेट खारेज गर्ने गरेको निर्णयविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका यातायात व्यवसायीलाई नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएलले ठाडो चेतावनी दिएर माहौल अझ तात्ने देखिएको छ । यतिबेला यातायात व्यवसायीको आन्दोलन पेचिलो बनेको छ । एकातिर सरकारले यातायातको सिन्डिकेट तोड्ने प्रयास र अर्कातिर व्यवसायीहरु पुरानै शैलीमा चल्न पाउनुपर्ने अडानमा । विज्ञप्ती जारी गर्दै वाइसीएलले सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू फिर्ता नलिए यसको विरुद्ध सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएको हो ।

केही यातायात व्यवसायी संगठनको नाममा चरणबद्ध आन्दोलन घोषणा भएको र यसले जनजीवनमा असुविधा, अस्तव्यस्तताको सृजना गर्दै आएको भन्दै वाइसीएलको ‘गैर–भूगोल’ प्रदेश (प्रदेश नं १) समितिले खबरदारी गरेको छ । सरकारले देशभरबाट सार्वजनिक यातायातको सिन्डिकेट हटाउने निर्णय गरेसँगै यातायात व्यवसायी समिति र संघहरुले कोषमा रहेको पैसा धमाधम निकाल्न थालेका छन् । यता लामो समयदेखि सिन्डिकेटको आडमा राजमार्ग कब्जा गर्दै आएका दुई यातायात समितिले कोषबाट करोडौँ पैसा निकालेको जानकारी उच्च स्रोतले दिएको छ । स्रोतका अनुसार काठमाडौँदेखि पूर्व दोलखासम्मको रुटमा सिन्डिकेट लगाउँदै आएको अरनिको यातायातले ठुलो परिमाणमा कोषमा जम्मा भएको रकम निकालेको हो ।

अरनिको यातायात समितिले कोषमा रहेको ८० करोड रुपैयाँमध्ये १८ करोड रुपैयाँ झिकिसकेको विश्वस्त स्रोतले जानकारी दिएको छ । त्यसैगरी पृथ्वी राजमार्ग बस व्यवसयाी समितिले पनि ३ करोड रुपैयाँ कोषबाट झिकिसकेको उच्च स्रोतले जनाएको छ । सरकारले जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएका देश भरका ३ सय भन्दा धेरै यातायात समिति र संघलाई खारेज गर्दै कम्पनी मोडलमा जान बाध्य बनाएपछि समितिहरुले धमाधम पैसा झिक्न थालेका हुन् ।

जिल्ला प्रशासनमा दर्ता भएर सिन्डिके लाउँदै व्यवसायीहरुले कुनै रुटमा एउटा नयाँ गाडी लगाउँदा ५ देखि १० लाख रुपैयाँसम्म असुल्ने गरेको तथ्य बाहिरिएको थियो ।

पैसा झिक्नेलाई छाड्दैन

सिन्डिकेट हटेपछि यातायात समिति र संघरुले धमाधम पैसा झिक्न थालेको जानकारी आफूलाई पनि प्राप्त भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बताएका छन् । उनले पैसा झिकेर कसैले पनि उम्किन नपाउने बताए । ‘कोषमा जम्मा भएको पैसा झिकेको मलाई पनि जानकारी आएको छ’, उनले भने, ‘तर, पैसा झिकेको रेकर्ड सरकारले निकाल्छ । यदि बदमाशी गरेर पैसा लुकाइएको पाइएमा व्यवसायीमाथि सम्पत्ति शुद्धीकरण मुद्दा चलाउँछौँ ।’

(श्रोत : अन्नपूर्ण पोष्ट दैनिक)

प्रतिक्रिया दिनुहोस