त्रिभुवन विमानस्थलभित्र ठूलो दुर्घटना टर्‍यो, मालिन्दो एयर चौरमा भासियो -सयौं यात्रु अलपत्र

0
16

काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । उडान नम्बर ओडी १८१ जहाज बिहीबार राति धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेर जोतिएको छ । राति पौने १० बजे टु जिरो अर्थात उत्तरी क्षेत्रबाट दक्षिणी क्षेत्र अर्थात् जिरो टु तर्फ जहाज गइरहेको थियो । मोडिएर पुनः उत्तरी क्षेत्रतर्फ आउने बेला जहाज धावनमार्ग छाडेर करिब १40 फिट पर चौरतर्फ जोतिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए ।

उनका अनुसार उक्त जहाज त्यहाँबाट नहटाएसम्म अन्तर्राष्ट्रिय उडान कुनै पनि हुन सक्ने अवस्था छैन । राति पौने १० बजेदेखि नै अन्तर्राष्ट्रिय उडान ठप्प भएको छ । आन्तरिक टर्मिनलमा सयौं यात्रुहरु अलपत्र परेका छन् ।

उनीहरु छिटो उडानको प्रतिक्षामा छन् । उनीहरु आफन्तहरुलाई टेलिफोन गर्दै उडान हुन नसक्दा भोग्नुपरेको समस्याबारे जानकारी गराइरहेको देखिन्छन् । चिनजानका व्यक्तिहरुलाई टेलिफोन गर्दै कतिबेला उडान होला भनेर जिज्ञासा राखिरहेका छन् । विमानस्थल प्रहरीका अनुसार उडान अवतरण कति बेलाबाट सुरु हुन्छ भनेर एकीनका साथ भन्न सकिने अवस्था अझै छैन । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले मध्याह्न १२ बजेभित्र विमानस्थल खुलाउने प्रयास भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस