रातो मच्छिन्द्रनाथको रथ यात्रा शुरु

0
20

करिब एक हजार ५ सय वर्षदेखि चल्दै आएको विश्वास गरिने रातो मच्छिन्द्रनाथको यो वर्षको रथयात्रा बिहिबारदेखि शुरु हुँदैछ । उपत्यकाकै सबैभन्दा लामो यो जात्रा अन्तर्गत बर्सेनि मातातीर्थ औंशीपछिको चौथो दिन चतुर्थीमा रथ तान्न शुरु गरिन्छ । तर यो वर्ष द्वितीया र तृतीय एकै दिन परेकोले चतुर्थी ३ दिनमै जुरेकोले बिहिबारदेखि रथ तान्न लागिएको हो । पहिलो दिन अपराह्न पुलचोकबाट तानिने रथ गाबहाल पुर्याइन्छ ।

बिहिबार रातो मच्छिन्द्रनाथ संगै मिननाथको पनि रथयात्रा हुन्छ । मीननाथलाई भने आजै टंगल टोलमा रहेको सानो रथमा रथारोहण गरी रथयात्रा सुरु गरिन्छ । टंगल टोलमा रथारोहण गरिएको मीननाथको रथलाई भने, रातो मच्छिन्द्रनाथको बाटो हेर्न लैजाने परम्परा छ । टंगल टोलबाट मीननाथको रथलाई तानेर ललितपुर महानगरसम्म बाटो हेर्न लैजाने गरिन्छ । त्यहाँ रातो मच्छिन्द्रनाथलाई पुल्चोकबाट नगरपालिकासम्म तानेपछि मच्छिन्द्रनाथ अघिअघि र मीननाथ पछिपछि गराएर रथयात्रा गरिन्छ । यो रथयात्रा गाबहाल, मंगलबजार, सुन्धारा, लगनखेल हुदै जावलाखेल पुर्याइन्छ ।

रथमा हयग्रव, लुप्तसहार, हरिसिद्धि र चन्द्रभैरवको प्रतिकका रुपमा ठूल्ठूला चार पाङ्ग्रा जडान गरिएको छ । रथको मुनिपट्टि बीचमा कर्कोटक नागको रूपमा लामो काठको ‘धः मा ः’ राखिएको छ । रथ तान्दा केही बाधा अवरोध नहोस् भनेर रथको अग्र भागमा कर्कोटक नाग राजको मुखमा सुनको जलप राखिएको हयग्रुब भैरवको मुकुट राखिएको छ । रथको माथिल्लो भागमा ‘बायमो’ मा स्वयम्भूबाट ल्याइएको अमिताभ राखिएको छ । गजुरमा सबै प्राणीको रक्षाका लागि श्री लोकेश्वरको षड्क्षरी मन्त्र लेखिएको झन्डा फहराइएको छ ।

३२ हात अग्लो, ३२ तल्लाको रथ र गुडाउने पाङ्ग्राको परिधीसमेत ३२ हातकै हुने रातो मच्छिन्द्रनाथको रथलाई हरियो धुपीले सजाएर घुमाइन्छ । रथलाई गाःबहाल, मंगलबजार, सुन्धारा, ओकुबहाल, चक्रबहिल, लगनखेल ईटीहुँदै कुमारीपाटीबाट जावलाखेल पुर्याइन्छ । रथ पल्टिए वा भाँच्चिए अनिष्ट हुन्छ भन्ने जनविश्वास छ । वि सं २०६६ मा रथ भाँच्चिएका कारण शुरुदेखि निर्माण गर्नुपरेको थियो ।

रातो मच्छिन्द्रनाथको रथलाई लगनखेल पुर्याएपछी राति रथ अगाडि एक एकवटा राँगा, बोका, जिउँदो माछा र हाँसको फुल बलि चढाएर महाबलि पूजा गरिन्छ भने ३२ पानेजूद्वारा पञ्च रक्षाको पाठ पनि गरिन्छ । भोलिपल्ट तानेर नरिवल खसाल्ने ठाउँ थती टोलतर्फ चलाउनुअघि रथलाई लगनखेलस्थित खरिबोटको दुईपटक परिक्रमा गराइन्छ । रथ थती टोलस्थित नरिवल खसाल्ने ठाउँ पुगेको भोलिपल्ट धान्यपूर्णिमामा पकाइने योमरी र ल्होंचामरीले रातो मच्छिन्द्रनाथको अभिषेक गरेपछि पूजाअर्चना गरी रथको टुप्पोबाट नरिवल खसालिन्छ ।

नरिवल खसालेको भोलिपल्ट बिहान सबेरै ‘याकःमिसा भूजया’ भनी महिलाहरूले मात्र रथलाई तानेर थटीको चौबाटोमा पु-याउँछन्। नरिवल खसाल्ने दिनमा नै मच्छिन्द्रनाथको देवाली दिन पनि तोकिन्छ । तोकिएको दिन पूर्णचण्डी मन्दिरमा मच्छिन्द्रनाथ सहित बाराहीको देवाली पूजा गरिन्छ । त्यसै दिन मंगलबजारको मणिमण्डपमा चार दिशाको चार थाममा चार जोशी बसेर रथलाई जावलाखेलतर्फ रथ तान्ने साइत हेरिन्छ र साइत नजुरेसम्म रथलाई त्यसै ठाउँमा विश्राम गराइन्छ । साइत जुरेको दिन रथलाई तानेर कुमारीपाटी हुँदै जावलाखेल पुर्याइन्छ र त्यसको चार दिनपछि भोटोजात्रा हुन्छ ।

भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथलाई खटमा राखी बाजागाजासाथ बुङमतीस्थित मन्दिरमा पुर्याइन्छ । पुल्चोकमा रथारोहण गराएपछि शुरु भएको मच्छिन्द्रनाथको जात्रा जावलाखेलमा भोटो जात्रा देखाएपछि समापन हुन्छ । त्यसैदिन देवतालाई खटमा राखेर बुंगमती लगिन्छ ।

कहाबाट आउछ रथयात्राको खर्च  ?
यो वर्ष मच्छिन्द्रनाथको रथयात्राका लागि ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको गुठी संस्थान शाखा कार्यालयका शैलेन्द्र पौडेलले जानकारी दिएका छन् । यो रकम गत वर्ष भन्दा १० प्र्रतिशत बढाइएको हो । रथनिर्माणका लागि परिचालित बाराही नाइकेलाई दैनीक ज्याला ८ सयबाट ११ सय र यँवाललाई पनि ८ सय बाट १३ सय २० रुपैया पुरयाइएको गुठी संस्थान प्रमुख पौडलले बताए ।

<

p style=”text-align: justify”>उनीहरुका लागि खाजा नास्ताको व्यवस्था गरिएको छ, भने दुर्घटना बीमाको समेत व्यवस्था गरिएको छ । यसपाली घःमा लाई आबश्यक काठ लिन जाने क्रममा एकजना ब्वसी घाइते भएको र उनको उपचारका लागि संस्थानले १० हजार नगद उपलब्ध गराएको थियो । जात्राका लागि यसपाली बास्केटफण्डका रुपमा ३ लाख रुपैयाँको कोष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस