आईजीपी खनाल द्वयलाई दज्र्यानी चिह्न प्रदान

0
24

नेपाल प्रहरीका महानिरीक्षक (आईजी) सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई बिहिवार दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले महानिरीक्षक खनालद्वयलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।

दुवै प्रहरी संगठनका नवनियुक्त महानिरीक्षकले आजबाटै आफ्नो कार्यभार सम्हालेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले खनालद्वयलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक सर्वेन्द्र खनालले पदीय चुनौतिलाई अवसरमा परिणत गर्ने बताएका छन् । उनले सशस्त्र प्रहरी बलसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता पनि जनाए । गृहमन्त्रालयमा दर्ज्यानी चिह्न ग्रहण कार्यक्रममा खनालले लिखित मन्तव्य संक्षिप्त रुपमा राखेका थिए । पदीय जिम्मेवारीसँगै चुनौति पनि रहेको भन्दै उनले यसलाई आफूले अवसरको रुपमा लिएको बताए। त्यस्तै सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले ऐन नियमअनुसार इमान्दारीतापूर्वक काम गर्ने र चेन अफ कमाण्ड कायम गर्ने बताए । उनले उपलब्ध स्रोत साधनको परिचालन गरेर सशस्त्रको प्रहरी बललाई आधुनिकीकरण गर्ने पनि बताए ।

खनालले आतंककारी गतिविधि र समाजमा खलल पुर्‍याउने कामलाई रोक्नका लागि क्रियाशील हुने बताए । त्यसका लागि आवश्यक नीति नियम निर्माणमा जोड दिने पनि उनले बताए। नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीबलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि पदबाट अवकाश पाएका छन् ।

प्रतिक्रिया दिनुहोस