तीन दिने भ्रमण सकेर प्रधानमन्त्री ओली आज साँझ स्वदेश फर्कँदै

0
13

प्रधानमन्त्री केपी शर्मा ओली भारतको ३ दिने राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कंदै छन् । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार नेपाल बायुसेवा निगमको विमानबाट प्रधानमन्त्री साँझ सात बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ५४ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार नयाँ दिल्ली गएका थिए ।

तीन दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओली भ्रमणको अन्तिम दिन आइतबार बिहान भारतको पन्तनगर पुगेका थिए । त्याँहा उनलाई भारत सरकारले विद्यावारिधिको उपाधि प्रदान गरेको छ । पन्तनगरमा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयले ओलीलाई विज्ञानमा पीएचडीको मानार्थ उपाधि प्रदान गरेको हो ।प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयमा आयोजित समारोहमा क्याम्पसका कुलपतिले डक्टर अफ साइन्सको मानार्थ उपाधि प्रदान गरेका थिए । त्यसैगरी, आइतबारै स्वदेश फर्कनुअघि प्रधानमन्त्री ओलीले उत्तराखण्डस्थित कृषि परियोजना निर्माणको निरीक्षण समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल–भारतबीच शनिबार नै १२ वुँदे संयुक्त वक्तव्य जारी भएको छ । संयुक्त वक्तव्यमा दुई मुलुकबीच बहुआयमिक सम्वन्धहरुमाथि बृहत समिक्षा तथा दुवै सरकार, निजी क्षेत्र र जनस्तरमा बढ्दो साझेदारीको स्वागत गर्दै समानता आपसी विश्वास, समान र लाभका आधारमा दुई पक्षीय सम्वन्धलाई नयाँ उचाईमा पुर्याउँन मिलेर काम गर्ने उल्लेख गरिएको छ ।

यस्तै भ्रमणका क्रममा वीरगञ्जस्थित एकीकृत भन्सार जाँच चौकीको प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले उद्घाटन गरेका छन् । दुवै देशका प्रधानमन्त्रीले मोतिहारी–अमलेखगञ्जको अन्तरदेशीय पेट्रोलियम पाईपलाईनको पनि शिलान्यास गरेका छन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदी, राष्ट्रपति रामनाथ कोविन्द, पूर्व प्रधानमन्त्री मनोमहन सिंह, भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी, गृहमन्त्री राजनाथ सिंहलगायतका राजनीतिक नेता तथा उच्च पदस्थ व्यक्तिहरुसँग भेटबार्ता गरेका थिए ।प्रधानमन्त्री ओली नयाँ दिल्ली पुग्दा भारतको इन्दिरा गान्धि अन्तराष्ट्रिय विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए ।

तस्बिर : एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस