प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा

0
9

मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चैत २३ गतेदेखि २५ गतेसम्म लागि प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा प्रस्थान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा प्रस्थान गरेका छन् । प्रधानमन्त्री निर्वाचित भएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतका लागि भएको हो ।

प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको नियमित उडानबाट बिहान ९ बजे भारत प्रस्थान गरेका उनलाई बिदाइ गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम, उपमहासचिव विष्णु पौडेल, पूर्वसभामुख सुवास नेम्वाङ तथा विभिन्न मन्त्रालयका सचिवहरु पुगेका थिए ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, मुख्यसचिव लोकदर्शन रेग्मी, परराष्ट्र सचिव शंकरदास बैरागी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी सहभागी छन् ।

यस्तै, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय संसद्का सदस्यहरु शरतसिंह भण्डारी, दीनानाथ शर्मा, रामेश्वर राय यादव, मोतिलाल दुगड, गणेशसिंह ठगुन्ना, शान्ता चौधरी, उमा रेग्मी, रामवीर मानन्धर, सीताराम महतो तथा विमलप्रसाद श्रीवास्तव भ्रमणदलमा सहभागी छन् ।

प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा , प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल तथा प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्य सहभागी छन् । प्रधानमन्त्री ओली इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पौने एघार बजे अवतरण गर्नेछन् । प्रधानमन्त्री ओली, पत्नी राधिका र मन्त्रीहरुलाई हैदरावाद हाउसमा बस्ने व्यवस्था मिलाइएको छ । भ्रमण टोलीका अन्य सदस्यहरुलाई ताजमानसिंह होटलमा बस्ने व्यवस्था मिलाइएको छ ।

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हो । ओली भ्रमण सकाएर आइतबार स्वदेश फर्कने छन् ।भ्रमणमा के के हुने छ ?
भारत भ्रमणको पहिलो दिन शुक्रबार ओली केही साना कार्यक्रमहरुमा सहभागी हुनेछन् । दिल्ली पुगेलगत्तै उनी ताज होटेलमा भारतीय उद्योगी व्यावसायीहरुसँग अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । पाँच बजे नेपाली समुदायसँग छलफल गर्ने र साँझ साढे सात बजे ओलीको सम्मानमा भारतस्थित नेपाली दूतावासले इम्पेरियल होटलमा आयोजना गरेको रात्रीभोजमा सहभागी हुने कार्यक्रम छ ।प्रधानमन्त्री ओलीको भारत भ्रमणको दोस्रो दिन शनिबार भने महत्वपूर्ण छ । प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग विहान ९ बजे भेटघाट गर्ने कार्यक्रम तय भएको छ । त्यहाँ गार्ड अफ अनर ग्रहण गरेपछि १० बजे राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर माल्यार्पण गर्ने कार्यक्रम छ । त्यसैदिन समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रपति भवन हैदरावाद हाउसमा भेटघाट हुनेछ । भेटघाटको क्रममा दुई पक्षबीच भएको सहमतिमा हस्ताक्षर गरी संयुक्त पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने कार्यक्रम छ ।

शुक्रबार नै हैदरावाद हाउसबाट ओली र मोदीले संयुक्तरुपमा पञ्चेश्वर जलविद्युत आयोजनाको शिलान्यास तथा वीरगञ्जमा निर्मित एकीकृत जाँच चौकी (आईसीपी)को उदघाटन गर्ने कार्यक्रम छ ।यस्तै शनिबार साँझ साढे पाँच बजे प्रधानमन्त्री ओलीले इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सहभागीता जनाउने र कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने छन् ।

दिल्ली बसाइँको क्रममा प्रधानमन्त्री ओलीले शनिबार नै भारतीय जनता पार्टीका नेता, कांग्रेस आईका नेता, भारतीय कम्युनिष्ट पार्टीका नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको छ । भारत भ्रमणको अन्तिम दिन आइतबार उत्तराखण्डको पन्तनगरस्थित कृषि विश्वविद्यालयको कार्यक्रममा ओली सहभागी हुनेछन् । त्यहाँ विश्वविद्यालयले ओलीलाई डक्टरेट (विद्यावारिधी)को सम्मानार्थ उपाधीबाट बिभूषित गर्ने छ । प्रधानमन्त्री ओली आइतबार साँझ ६ बजे स्वदेश फर्किने कार्यक्रम रहेको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस