प्रदेश ४ को नाम राख्न २८ गतेदेखि सुझाव संकलन

0
24

देशको राजधानी र नामाकरणको सिफारिस गर्न बनेको विशेष समिति प्रश्नावली लिएर जिल्लाजिल्लामा जाने भएको छ । समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाको संयोजकत्वमा बुधबार बसेको बैठकले प्रदेश राजधानी र नामकरणको प्रश्नावलीको फम्र्याट लिएर जिल्ला-जिल्लामा जाने निर्णय गरेको हो ।बैठकले २८ गते कास्कीबाट सुझाव संकलन थाल्ने निर्णय गरेको छ । सुझाव संकलनमा क–कसलाई बोलाउने, कसरी सुझाव संकलन गर्ने भन्ने कुराको टुंगो लगाएर सांसद जिल्लाजिल्लामा जान लागेका हुन् ।

बैठकले राजधानी तथा नाम सिफारिसको कार्यविधि पनि पारित गरेको छ । विशेष समितिका सदस्यको आचारसंहिता पनि बैठकले तयार पारेको छ । कुनै पनि सार्वजनिक समारोहमा प्रदेशको राजधानी र नामका विषयमा समितिका सदस्य बोल्न नपाइने आचारसंहितामा छ । एघारै वटा जिल्लाबाट सुझाव आएपछि मूल्यांकनका आधारमा राजधानी तथा प्रदेश नामाकरणका विषयमा सिफारिस गरिने छ । जिल्ला समन्वय समिति कास्कीको सभाहलमा आउँदो बुधबार हुने सुझाव संकलन कार्यक्रममा सबै राजनीतिक दलका नेता, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, बार एसोसिएसन, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जिसस प्रमुख तथा उपप्रमुख, आदिवासी जनजाति महासंघ, अन्तरपार्टी महिला सञ्जाल संयोजक, दलित उत्थान समिति, गैर सरकारी संस्था महासंघ लगायत सहभागी हुनेछन् ।

यीनै संस्था अन्य जिल्लामा पनि सहभागी हुने निर्णय वैठबले गरेको छ । कति–कति गते कुनकुन जिल्लामा सुझाव संकलन हुने भन्ने विषयमा १८ गते नै निर्णय गरिने थापाले जानकारी दिए । सांसद सावित्रा राना, दीपक कोइराला, कृष्ण थापा र चन्द्रबहादुर बुढा पर्वत, बागलुङ र मुस्ताङ जिल्लामा सुझाव संकलनका लागि जानेछन् । धनञ्जय दवाडी, हरिशरण आचार्य, मधु अधिकारी गुरुङ लमजुङ, गोरखा, मनाङमा सुझाव संकलनका लागि जाने निर्णय भएको छ ।

भागवतप्रकाश मल्ल, विन्दुकुमार थापा, मीनप्रसाद गुरुङ र सरिता गुरुङ स्याङ्जा तनहुँ र नवरपुरमा सुझाव संकलनका लागि पुग्ने छन् । सामाजिक सञ्जाल पनि सुझाव संकलनका लागि प्रयोग गरिने छ । आधिकारिक वेबसाइट बनाएर भोट गर्न पाइने व्यवस्था मिलाउने थापाले बताए । गण्डकी, गण्डक, तमुवान–मगराज, अन्नपूर्ण, मुक्तिनाथ, गोरखा, व्यास, धौलागिरि, माछापुच्छ्रे लगायत थुप्रै नाममाथि जनस्तरमै अहिले चर्चा र बहस भइरहेका छन् । जातीय संस्थाहरुले पनि उस्तै माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस