धर्मप्रचार गर्न आउने विदेशीलाई विमानस्थलबाटै घर फर्काउने नीति बन्दै

0
10

ओली सरकार गठन हुने वित्तिकै पहिलो पटक अध्यागमन नीति बनेको छ । गृह मन्त्रालयको एउटा समितिले अध्यागमन नीति २०७४ गृहमन्त्री रामबहादुर थापालाई बुझाएको छ । गृहका सह–सचिव केदार न्यौपाने नेतृत्वको समितिले अध्यागमन नीति बनाएर गहृमन्त्रीलाई बुझाएको हो । यो अध्यागमन नीति लागू हुनासाथ विदेशी नागरिकमाथि नियमन गर्न सजिलो हुनेछ ।

अध्यागमन नीति बनाउने समितिले विदेशी पाहुनामाथि निगरानी राख्ने निर्देशिका समेत बनाएको छ । गृहमन्त्री थापाले नै पदभार ग्रहण गरेकै दिन अध्यागमन सुधारका लागि भन्दै अध्यागमन नीति बनाउन भन्दै समिति गठनको निर्णय गरेका थिए । त्यही समितिले छोटो समयमा अध्यागमन नीति बनाइदिएको हो । केही दिन अघि मात्रै गृहमन्त्री थापा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के निरीक्षणमा निस्केका थिए ।

गृहमन्त्रालयका अनुसार अहिलेसम्म विदेशी नागरिकमाथि नियमन गर्ने कुनै निर्देशिका बनेको थिएन । जसको असर बेला बेला देखिँदै आएको छ । कतिपय व्यक्तिहरु विदेशी पाहुनाको आवरणमा अनेक स्वार्थ लिइ नेपाल छिरेर विभिन्न आपराधिक गतिविधि गर्दछन् । कयौेँ अपराध गरेर लुक्नेदेखि धर्मप्रचारका लागि नेपाल छिर्ने गरेका घटना बेलाबखत सार्वजनिक भइरहेकै छन् । त्यस्ता पाहुनालाई तुरुन्त नियन्त्रणमा लिएर निष्काशन गर्नेसम्मको सुझाव समितिले दिएको छ । कडिकडाउका साथ नीति लागू गरे उनीहरु विमानस्थलबाटै घर फर्काइने छन् ।

अध्यागमन नीतिबारे सुझावका लागि भन्दै गृहमन्त्रालयले वुधबारै अर्थ, पर्यटन, श्रम र परराष्ट्र मन्त्रालयलाई चिठी पठाएको छ । गृह प्रवक्ता रामकृष्ण सुवेदीले, ‘हामीले पहिलोपटक अध्यागमन नीति बनायौँ । अब यसैको आधारमा अध्यागमन ऐन र नियमावलीहरु संशोधन हुनेछन्’, भने । नीतिमा कुन देशका नागरिकलाई अन–अराइभल भिसा दिने, कस्ता नागरिकलाई नदिने र छिमेकी मुलुक तथा सार्क सदस्य राष्ट्रका नागरिकबारे कस्ताे अध्यागमन रणनीति लिनेलगायत उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस