पुन उपराष्ट्रपतिमा निर्विरोध आज निर्वाचित घोषणा हुँदै

0
18

उपराष्ट्रपति पदको निर्वाचनमा एकजनाको मात्र उम्मेदवारी परेको छ । वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको मात्र उपराष्ट्रपति पदमा उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले शनिवार जनाएको छ । यो सँगै उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन आयोगले आज गर्दैछ ।

उपराष्ट्रपति पदका लागि शनिबार उम्मेदवारी मनोनयन दर्ता गर्न समय दिइएकोमा वाम गठबन्धनका नन्दबहादुर पुनको मात्रै उम्मेदवारी परेको थियो । उपराष्ट्रपतिका लागि चैत ९ गते मतदान गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरे पनि पुनविरुद्ध कसैले पनि उम्मेदवारी नदिएपछि आयोगले आज उनी निर्विरोध निर्वाचित भएको घोषणा गर्न लागेको हो । निर्वाचन आयोगले पुनविरुद्ध कसैको उम्मेदवारी नपरेकाले उनी उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएको घोषणा आज गर्न लागिएको जानकारी दिएको छ । पुनको उम्मेदवारीको प्रस्तावकमा रेखा शर्मा, सुवास नेम्वाङ, परशुराममेघी गुरुङ, पम्फा भुसाल र भानुभक्त ढकाल थिए भने जयपुरी घर्ती, राजेन्द्र गौतम, रामनारायण बिडारी, ओनसरी घर्ती र देव गुरुङले समर्थन गरेका थिए ।

अघिल्लो कार्यकालमा पनि पुन नै उपराष्ट्रपतिमा निर्वाचत भएका थिए । पुनले अघिल्लो कार्यकालमा कुशल भूमिका निर्वाह गरेको भन्दै वाम गठबन्धनले उनलाई उम्मेदवार बनाएकाे थियाे । राष्ट्रपतिमा भने यसअघि नै विद्यादेवी भण्डारी निर्वाचित भइसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस