राप्रपा प्रजातान्त्रिकले राष्ट्रपति चुनावमा राईलाई मतदान गर्ने-विवेकशील साझा र नयाँ शक्तिले चुनावमा भाग नलिने

0
37

राप्रपा प्रजातान्त्रिकले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कुमारी लक्ष्मी राईलाई मतदान गर्ने भएको छ । पार्टीको कार्यसम्पादन समितिको बैठकले मंगलबार हुने राष्ट्रपति निर्वाचनमा राईलाई समर्थन गर्ने निर्णय गरेको महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए ।मंगलबार बिहान १० बजेदेखि ३ बजेसम्म संघीय संसद भवन नयाँबानेश्वरमा राष्ट्रपति निर्वाचन हुँदैछ । निर्वाचनमा एमालेबाट विद्यादेवी भण्डारी र कांग्रेसबाट कुमारी लक्ष्मी राई उम्मेदवार छन् । तर विवेकशील साझा र नयाँ शक्ति पार्टीले राष्ट्रपति निर्वाचनमा भाग नलिने भएका छन् ।

राष्ट्रपतिका उमेदवारहरुलाई हेर्दा जोसुकै विजयी भएपनि दलीय प्रभावबाट मुक्त रही कार्यसम्पादन गर्ने सम्भावना अत्यन्तै न्यून भएको भन्दै विवेकशील साझाले निर्वाचनमा भाग नलिने निर्णय गरेको हो । नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको पक्षमा रहेको भन्दै चुनावमा भाग नलिने जनाएको छ ।

विवेकशील साझा पार्टीले आसन्न राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पार्टीको धारणा तय गरी सोहीअनुसार आवश्यक निर्णय लिन प्रदेश सभा संसदीय दल (प्रदेश ३) लाई अधिकार प्रत्यायोजन गरेको थियो । सोहीअनुसार सोमबार बसेको प्रदेश ३ को संसदीय दलको बैठकले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गरेको दलका नेता रमेश पौडेलले जानकारी दिए ।

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधिसभा, राष्ट्रियसभा) का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० मतदाता कायम गरिएको छ । मुलुकको राष्ट्राध्यक्षका रुपमा रहने राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस