राष्ट्रियसभा अध्यक्षको मनोनयन दर्ता आज- तीन सदस्यले भोट हाल्न नपाउने

0
24

राष्ट्रिय सभा अध्यक्षका लागि आज मनोनयन दर्ता हुने भएको छ। मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ। दिउँसो साढे १ बजे उम्मेदवारको नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । अध्यक्ष पदको निर्वाचन भने बुधबार हुनेछ । सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनित डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौडेलले भने भोट हाल्न नपाउने भएका छन्। उनीहरुको शपथअघि नै मतदाताहरुको अन्तिम नामावली सार्वजनिक भइसकेकाले थपघट गर्न नमिल्ने निर्वाचन आयोगको भनाइ छ ।

अदालती विवादका कारण खतिवडा, बिडारी र पौडेलले अस्ति बिहीबारमात्रै शपथ लिएका थिए । मतदाता नामावली एक दिनअघि बुधबारनै प्रकाशित भइसकेको थियो । मतदाता नामावली सम्बन्धी ऐनमा अन्तिम मतदाता नामावलीमा कुनै हेरफेर, थपघट गर्न वा सच्याउन नसकिने उल्लेख छ । राष्ट्रिय सभामा ५९ सांसद छन् । एमालेबाट २७, कांग्रेसबाट १३, माओवादीबाट १२ तथा संघीय समाजवादी फोरम र राजपाबाट २–२ जना सांसद छन्।

प्रतिक्रिया दिनुहोस