नेपाली आकाशमा थपिँदै दुई चिनियाँ जहाज 

0
10

नेपाल वायुसेवा निगमले थप दुई चिनियाँ वाई-१२ जहाज ल्याउँदैछ । दुवै त्रिभुवन विमानस्थलमा मंगलबार ओर्लिने निगमले जनाएको छ । २०६९ सालमा नेपाल र चीनबीच सरकारीस्तरमा भएको सम्झौताअनुसार ती जहाज ल्याउन लागिएको हो । सम्झौताअनुसार ६ मध्ये चार वटा जहाज आइसकेका छन् ।६ वटामध्ये दुई अनुदानमा र चार वटा सहुलियत ऋणमा ल्याउने सम्झौता छ । एउटा एमए-६० र एक वाई-१२ जहाज चिनियाँ अनुदानका हुन् । दुवै जहाज सन् २०१४मै ल्याइसकिएको छ ।

एभिएसन इन्डस्ट्री कर्पोरेसन अफ चाइना (एभिक)द्वारा उत्पादित एमए-६० को सिट क्षमता ५६ हो । यस्तै, हर्बिन एयरक्राफ्ट इन्डस्ट्रीको उत्पादन वाई-१२ को क्षमता १९ सिट हो । दुई वाई-१२ आएसँगै निगमको आन्तरिक उडानमा आठ वटा जहाज हुनेछन् । अन्य दुई टि्वनअटर जहाजबाट निगमले आन्तरिक गन्तव्यमा उडान भर्दै आएको छ ।

पछिल्ला दुई वाई-१२ भने सहुलियत ऋणमा चीनले उपलब्ध गराएको हो । अनुदानमा उपलब्ध भएका दुईबाहेक चार वटा जहाजका लागि चिनियाँ एक्जिम बैंकले सहुलियत व्याजमा ऋण उपलब्ध गराएको छ । सरकारले यसअघि नै रकम तिरिसकेकाले निगमका लागि दुवै जहाज भित्र्याउनु अनिवार्य सर्त बनेको छ । चीनको हर्बिन शहरबाट चिनियाँ पाइलटले नै उडाएर काठमाडौंमा डेलिभरी दिनेछन् । निगमले यसअघि ल्याइएका वाई-१२ बाट पोखरा, भरतपुर र सिमरामा उडान गर्दै आएको छ। थप दुई वटालाई पनि तिनै गन्तव्यमा उडाउने निगमको व्यापारिक योजना छ ।

प्रतिक्रिया दिनुहोस