आज राष्ट्रियसभाको निर्वाचन

0
16

राष्ट्रियसभा सदस्यको निर्वाचन आज ६ वटा प्रदेशमा  हुँदैछ । प्रदेश २ बाट सबै निर्विरोध निर्वाचित भइसकेकाले १, ३, ४, ५, ६ र ७ प्रदेशमा  निर्वाचन हुन लागेको हो । राष्ट्रियसभाका ५६ सदस्य चयनका लागि हुने निर्वाचनमा २४ जना निर्विरोध भइसकेकाले अब ३२ पदमा मात्र निर्वाचन हुने छ । प्रदेश २ मा भने मतदान हुनेछैन । प्रदेश २ का आठ वटै पदमा निर्विरोध भइसकेको छ । निर्विरोध भएकालाई बुधबार नै प्रमाणपत्र प्रदान गरिनेछ ।

एकल संक्रमणीय मत प्रणालीबमोजिम प्रत्येक प्रदेशबाट आठ जनाका दरले राष्ट्रियसभामा कुल ५६ जना निर्वाचित हुने व्यवस्था छ । ३२ पदका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।  राष्ट्रियसभा निर्वाचनमा एउटा प्रदेशबाट ८ जना निर्वाचित हुनेछन । जसमा ३ जना खुला, ३ जना महिला, एक जना अपांग वा अल्पसंख्यक र एक जना दलित सदस्य रहन्छन् ।

प्रदेश १ को विराटनगरस्थित विरेन्द्र सभागृहमा, प्रदेश ३ को जवालाखेल चिडियाखाना अगाडि रहेको ललितपुर महानगरपालिका वडा ४ को कार्यालयमा र प्रदेश ४ को पोखरास्थित लोकसेवा आयोगको कार्यालय परिसरमा निर्वाचन हुने छ । यसैगरी प्रदेश ५ को दाङस्थित कर्मचारी मिलन केन्द्रको भवनमा, प्रदेश ६ को सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालयमा र प्रदेश ७ को डोटी सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माविमा निर्वाचन केन्द्रमा प्रदेश सांसद र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख उपप्रमुखले मात्र मतदान गर्नेछन् ।

प्रदेश सांसद ५५० जना र स्थानीय तहका प्रमुख र उपप्रमुख १५०६ जना मतदाता रहेका छन् । प्रदेश सांसदको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ हुनेछ । त्यसैले उनीहरुले मतदान गर्ने मतपत्रसमेत फरक फरक हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रदेश १ बाट अन्य सदस्यमा रमेशजंग रायमाझी, परशुराम मेघी गुरुङ, हरिचरण शिवाकोटी, महिला सदस्य : सरिता प्रसाईं, नैनकला ओझा, बिना पोखरेल त्यस्तै गरी प्रदेश २ बाट  अन्य सदस्यमा जितेन्द्र नारायण देव, रमेशप्रसाद यादव, सुमनराज प्याकुरेल,  महिला सदस्यमा शशीकला दाहाल, मुक्ताकुमारी यादव, प्रमिलाकुमारी,  अल्पसंख्यकमा  वृषेशचन्द्र लाल , दलित सदस्य रामप्रित पासवानयस अगाडि नै निर्बिरोध निर्वाचित भई सकेका छन भने  प्रदेश ४  अल्पसंख्यक वा अपांग सदस्यमा : प्रकाश पन्थ, प्रदेश ५  महिला सदस्यमा अनिता देवकोटा, कोमल ओली, मीना बुढा, र  प्रदेश ७  अन्य सदस्यमा बद्री पाण्डे, शेरबहादुर कुावर, हरिराम चौधरी, महिला : तारादेवी भट्ट, इन्दु कडरिया, कमलाकुमारी ओली निर्विरोध निर्वाचित भई सकेका छन् ।

प्रतिक्रिया दिनुहोस