बिपिसीको ४० लाख ८१ हजार कित्ता एफपिओ माघ १५ देखि प्रतिकित्ता ५०१ रुपैयाँ

0
108

बुटवल पावर कम्पनीले यही माघ १५ गतेदेखि ४० करोड ८१ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता नयाँ सेयर निष्काशन (एफपिओ) को बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रिमियम सहित प्रतिकित्ता ५०१ रुपैयाँमा उक्त सेयर बिक्री गर्ने भएको छ । कम्पनीको एफपिओमा न्यूनतम दश कित्ता अर्थात पाँच हजार दश रुपैयाँदेखि अधिकत्म २० हजार चार सय अर्थात एक करोड दुई लाख २० हजार चार सय रुपैयाँसम्मको आवेदन गर्न पाइनेछ ।

कम्पनीको एफपिओ निष्काशनकर्ता एनएमबि क्यापिटल रहेको छ । एफपिओमा छिटोमा माघ १९ गते र ढिलोमा फागुन १५ गतेसम्म आवेदन गर्न पाइने कम्पनीले जनाएको छ । लगानीकर्ताले एनएमबि क्यापिटल नागपोखरी, लक्ष्मी क्यापिटल बानेश्वर, बुटवल पावर कम्पनी, वुद्ध नगर तथा आस्वा सदस्य रहेका जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ । एफपिओबाट संकलित रकम कम्पनीले निमार्ण सुरु गरेका आयोजनामा लगानी गर्ने बताउँदै आएको छ । कम्पनीले ३० मेगवाटको न्यादी जलविद्युत आयोजना र ३७।६ मेगावाटको काबेली ए जलविद्युत आयोजना निमार्ण गरिरहेको छ । यी आयोजना विदेशी साझोदार तथा स्वदेशी साझेदारसँगको सहकार्यमा सन् २०२० सम्म सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

साथै बीपीसी एक सय मेगावाटको मनाङमर्स्याङ्दी आयोजनाको अनुमति लिने क्रममा रहेको छ भने ८५ मेगावाटको चिनीखोला जलविद्युत आयोजना सम्भाब्यता अध्ययन पुरा गरिसकेको छ । हाल यो कम्पनीको दोस्रो बजारमा प्रतिकित्ता सेयर ६६५ रुपैयाँको हाराहारीमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस