असनमा पनि चारपांग्रे गाडी निषेध

0
26

यसअघि ठमेल र पशुपति मन्दिर परिसरलाई चारपांग्रे सवारी साधन मुक्त गराइसकिएको ट्राफिक प्रहरी महाशाखाले काठमाडौंको असन क्षेत्रलाई पनि मंगलबारबाट चार पांग्रे सवारी साधन मुक्त गरेको छ । बढी भिडभाड हुने असनक्षेत्रमा पूर्ण तयारीका साथ आजदेखि चारपांग्रे गाडी निषेध हो ।

काठमाडौं महानगरपालिकाका वडा नं १७, १८, १९, २२, २४, २५ र २७ कार्यालयले महत्वपूर्ण सहयोग गरेकाले नै असनलाई चारपांग्रे सवारी साधन निषेधित क्षेत्र कार्यान्वयन गर्न सहज भएको ट्राफिक प्रहरीले जनाएको छ । काठमाडौंको पुरानो बजार असनमा किलमेल गर्नेहरुको अत्यधिक भिडभाड हुने गर्दछ ।

व्यस्त र साँघुरा गल्लीहरुमा चारपांग्रे गाडीसमेत प्रवेश गरिदिँदा पैदलयात्रीले सास्ती खेप्दै आएका थिए । पैदल यात्रुको आवतजावतलाई सहज बनाउनका लागि चारपांग्रे गाडी निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ । अाजबाट इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिंह, ज्याथाबाट त्यौड, ठहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट बन्टुमा चार पांग्रे सवारी चल्न पाउने छैनन् । भोटाहिटीबाट असनचोकसम्म दुवैतर्फी सडकमा चार पाङग्रे सवारी चलाउन पनि पाइने छैन ।

नरदेवीबाट भेडासिंह हुँदै इन्द्रचोकसम्म वान-वे गरिएको छ । टेंगालबाट बाङ्गेमुढा हुँदै भेडासिंह, इन्द्रचोक पनि एकतर्फी गरिएको छ । क्षेत्रपाटीबाट ठहिटी हुँदै नघःल बांगेमुढा भेडासिंह हुँदै इन्द्रचोकसम्म वान-वे गरिएको छ । काठमाडौं महानगरपालिकाका वडा नं १७, १८, १९, २२, २४, २५ र २७ लगायतका भित्री शहरमा चारपांग्रे सवारी निषेध भएको हो । दुईपांग्रे सवारीलाई भने यो नियम लागू गरिएको छैन । नियम नमान्ने सवारी चालकलाई ५ सय देखि १ हजार रुपैयाँसम्म जरिवना लगाउने ट्राफिक प्रहरी प्रवक्ता उमेश रञ्जितकारले जनाए ।

प्रतिक्रिया दिनुहोस