अब पशुपतीनाथ मन्दिर क्षेत्र सवारी मुक्त

0
10

विश्व सम्पदा सूचीमा सूचिकृत तथा हिन्दूहरुको आरध्य देव पशुपतिनाथ मन्दिरको कोर क्षेत्रमा मंगलबारबाट सवारी साधन निषेध गरिएको छ । यसअघि ठमेललाई सवारी मुक्त गरेको ट्राफिक प्रहरीले अब पशुपति क्षेत्रमा पनि गाडीहरु निषेध गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता डीएसपी मुकुन्द मरासिनीका अनुसार श्रद्धालु भक्तजनहरुलाई सहजरुपमा दर्शनको व्यवस्था गर्नलाई पनि सवारी साधन निषेध आवश्यक देखिएकाले सो कार्य गरिएको हो ।

यसअघि पशुपतिनाथ मन्दिरको पश्चिम र दक्षिण ढोका अगाडि रहेको सडकमा गाडीहरु गुड्थे । यसबाट भक्तजनहरुलाई हिँडडुलमा अप्ठ्यारो हुने गरेको थियो ।यसअघि शिवरात्री, तीज, बालाचतुर्दशीजस्ता ठूला चाडपर्वहरुमा मात्र पशुपतिनाथ मन्दिर वरपर सवारी साधन लैजान पाइँदैनथ्यो । अब भने सधैंका लागि पशुपतिनाथ मन्दिरको कोर क्षेत्रलाई सवारी मुक्त गराइएको छ ।

तर शव बाहन र एम्बुलेन्सलाई भने पशुपति क्षेत्र प्रवेशमा रोक लगाइएको छैन । पशुपति आर्यघाटमा दर्जनौं शव दाह हुने भएकाले शव बाहनलाई भने भित्रैसम्म आउन-जान दिइने छ ।मंगलबारबाटै पशुपति क्षेत्रको वनकाली र उमाकुण्डभन्दा भित्र गाडीहरु लैजान दिइने छैन । पार्किङका लागि वनकालीको चौर र उमाकुण्डमा ठूलो स्थान छुट्याइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता डीएसपी मुकुन्द मरासिनीका अनुसार ट्राफिक प्रहरीले आवत-जावतलाई व्यवस्थित बनाउन वान-वेको पनि व्यवस्था गरेको छ । गौशाला प्रहरी कार्यालयको छेउँबाट वनकालीतर्फ तल जान पाइए पनि फेरि त्यही बाटो हुँदै फर्किन भने पाइने छैन । फर्किनका लागि चारमूर्ति तर्फको बाटो प्रयोग गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस