प्रजातन्त्रको अभ्यास- पहिलो चरणको मतदान सुरु

0
13

देशको हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य आज बिहान ७ बजेदेखि शुरु भएको छ । प्रदेश नं १ का ७, प्रदेश नं ३ का ६, प्रदेश नं ४ का ६, प्रदेश नं ५ का २, प्रदेश नं ६ का ७ र प्रदेश नं ७ का ४ जिल्लामा यो निर्वाचन भइरहेको छ । संविधान कार्यान्वयनकै महत्वपूर्ण कडीका रूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन पहिलो चरणमा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा यो निर्वाचन हुँदैछ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ पहिलो चरणको निर्वाचनमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । गोर्खामा उत्साहजनक तरिकाले मतदान हुदैछ । १०२ बर्षका जयकृष्ण बगालेले मत खसालेका छन् ।

यस चराणको निर्वाचनमा ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नुहुनेछ । पहिलो चरणको निर्वाचनमा दुई हजार ९१९ मतदानस्थल र चार हजार ४६५ मतदान केन्द्र कायम गरिएको निर्वाचन आयोगले जनाएको छ । अपराह्न ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरेका मतदाताले मात्रै मतदान गर्न पाउनु हुने हुँदा सबै मतदाताले एक दिन राष्ट्रका लागि समय प्रदान गरी मतदानमा सरिक भई आफूले रोजेको योग्य उम्मेदवारलाई निर्वाचित गराउन निर्वाचन आयोगले आम मतदातालाई आह्वान गरेको छ ।

मतदाताले कुनै कारणवशः मतदाता नामावलिमा नाम लेखाए पनि मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

यो निर्वाचन नेपालको संविधान, संघीयता र गणतन्त्र कार्यान्वयन गर्ने सिलसिलामा हुन लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस