स्वर्ग जहाँ छ, घुम्नै पर्ने ठाउ मुक्ती क्षेत्र मुस्ताङ

0
58

मुस्ताङ एउटा जिल्लाको नाम मात्र होइन, यो विश्वकै दसौं स्थानमा पर्ने पर्यटकीय गन्तव्य पनि हो । यहाँको धार्मिक, साँस्कृतिक र प्राकृतिक रसास्वादन गर्न देश विदेशका पर्यटक मरिहत्ते गर्ने गर्दछन् । हिमाल पारीको जिल्लाको नामबाट समेत चिनिने मुस्ताङ जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमाशिखरको काखमा अवस्थित छ । हिन्दु र बौद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थलका रुपमासमेत ख्यातिप्राप्त यस क्षेत्रको मनोरम प्राकृतिक छटाको कसैले बयानसमेत गर्न सक्दैन ।कालीगण्डकीको उद्गमस्थल मुक्ति क्षेत्र मुक्तिनाथ, केदारनाथ र बौद्ध धर्मावलम्बीहरुको पावन भूमि हो । ३ हजार ७ सय १० मिटरको उचाईमा रहेको मुक्ति क्षेत्रमा विशेषगरी आन्तरिक साथै सार्क मुलुक र विश्वका अन्य देशका नागरिक पर्यटकका रुपमा पुग्ने गर्दछन् । आन्तरिक र सार्क राष्ट्रबाट आउने बढी धार्मिक पर्यटक भए पनि पश्चिमा मुलुकबाट प्राकृतिक सुन्दरता अवलोकन गर्न आउनेहरुको पनि कमी रहँदैन । युरोपियन पर्यटकहरु भने राउण्ड अन्नपूर्णको बाटो हुँदै बेशीसहरबाट मनाङको थोरङपाससम्म पुग्ने गर्दछन् । थोरङपास ५ हजार ४ सय १६ मिटर उचाईमा पर्दछ । त्यसैले मुक्तिनाथ क्षेत्र पुगेर उन्मुक्त महशुस गर्नुको आनन्द अलग्गै छ । यात्रा पनि त्यत्तिकै रोमाञ्चक हुने गर्दछ ।

मुक्तिनाथ १०८ दिव्‍य देशहरूमा एक स्थान हो । यो ‘दिव्‍य देश’ वैष्‍णवहरूको पवित्र मन्दिर हो । पारम्परिक रूपमा भगवान विष्‍णुको शालिग्राम शिलाको रूपमा पूजा गरिन्छ । यस शिलाको निर्माण यस्तो प्रागैतिहासिक कालमा पाइने किराको जीवाश्‍मबाट भएको थियो, जो मुख्‍यत: टेथिस सागरमा पाइन्थे । जहाँ टेथिस सागर अवस्थित थियो त्यहाँ अब हिमालय पर्वत छ । पौराणिक मान्‍यताहरूका अनुसार शालिग्राम शिलामा विष्‍णुको निवास हुन्छ । यस सम्बन्धमा अनेक पौराणिक कथाहरू पनि प्रचलित छन् ।

नेपालका चार धाममध्ये एक मुक्तिक्षेत्र। मुक्तिनाथ दर्शन पछि वैकुण्ठवास भइन्छ भन्ने विश्वास छ। खासमा मुक्तिनाथ विष्णुको मन्दिर हो। मन्दिरभित्र विष्णु, लक्ष्मीनारायण, भूदेवीका मूर्ति छन्। हिन्दु र बौद्धमार्गीको साझा तीर्थ पनि हो मुक्तिनाथ। हिन्दूका पुजारी र बौद्धका झुमाले आ–आफ्नै परम्पराअनुसार पूजा गर्ने चलन छ। मुक्तिनाथ र गुम्बामा झुमाले पूजा र रेखदेख गर्छन्। हिन्दु पण्डितले आरती र पुष्पाञ्जली गर्छन्।

मोक्ष प्राप्त हुने पवित्र ठाउँ मुक्तिनाथ

त्यहाँ पाइला राख्नासाथ आफूलाई पवित्र ठान्छन् तीर्थयात्री। मुक्तिनाथलाई बौद्धमार्गी ‘छुमिङ ग्यात्सा’ भन्छन्। तिब्बती भाषाको यो शब्दले ‘सय पानी’ भन्ने बुझाउँछ। पृथ्वी, हावा, पानी, आगो सबैको प्रतिनिधित्व मुक्तिनाथमा पाइन्छ। बौद्ध धर्मावलम्बी मन्दिरभित्र ‘ओम् माने पेमे’ पुकारिरहन्छन्। मन्दिरभित्र शंख, चक्र, गदा, पदमधारण रुपि तामाको पूर्ण कदको नारायणको मूर्ति छ। मन्दिर वरिपरि साँढेको मुखाकृतिबाट पानी बगिरहन्छ। सहस्र मुलबाट निस्केको एक सय आठ धाराबाट बगिरहेको पानी चिसो हुन्छ। तीर्थयात्री चिसोको प्रवाह नगरी सबै धारामा नुहाइरहेका देखिन्छन्। नुहाएमा पाप पखालिन्छ भन्ने विश्वास छ। मन्दिरअगाडि दुई पोखरी बनाइएका छन्। त्यहाँ एकसय आठ धाराको पानी संकलन गरिएको छ। धारामा नुहाउन नसक्नेहरु पोखरीमा डुबेर पुण्य कमाउँछन्।

मुक्तिनाथमा चैतदेखि जेठसम्म भीड लाग्छ। बर्खामा कम हुन्छन्। दसैंको सोह्र श्राद्धका बेला थेगिनसक्नु भीड हुन्छ। मोटर बाटो खुलेपछि यात्रु बढेका हुन्। नेपाली र भारतीय बढी हुन्छन्। वर्षमा ५ लाखजतिले दर्शन गर्छन्, मन्दिरमा बिहान ६ देखि साढे ७ बजेसम्म र बेलुकी ६ देखि ७ बजे नियमित पूजा हुन्छ।

यातायातको ब्यवस्था

पोखराबाट म्याग्दीको सदरमुकाम बेनी, जोमसोम हुँदै मुक्तिनाथ सडक यात्रा गरिन्छ। मुस्ताङ सदरमुकाम जोमसोमबाट मुक्तिनाथको दुरी २६ किमि छ। नांगा पहाड माथि दौडिरहने गाडी, गाडीभित्रबाट देखिने अग्ला पहाड र हिमालले सबैको मन लोभ्याउँछ। कच्ची बाटोमा उफ्रिँदै त्यहाँ पुगेको पत्तै पाइन्न।

पोखरा–जोमसोम बीस मिनेटको हवाई उडान त्यसमा प्रायः विदेशी चढ्छन्। नेपालीले सितिमिति टिकट पाउँदैनन्। किनकि एयरलाइन्सहरु विदेशीसँग डलर लिन पाउँछन्। बेनीबाट जोमसोम ७६ किमि। कच्चि सडकमा बस वा जीपमा ६ घन्टा लाग्छ। जोमसोमबाट मुक्तिनाथसम्म जिपमा दुई घन्टा। मुक्तिनाथ जिपपार्कबाट मन्दिर पुग्न आधा घन्टा उकालो चढ्नुपर्छ। मोटो ज्यान भएकाहरु फतक्कै गल्छन्। त्यहाँ मोटरसाइकल भाडामा पाइन्छ।

नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र यही बाटो भएर पर्यटक तिब्बतमा रहेको कैलाश-मानसरोबर जाने भएकोले यो क्षेत्रको बिकास हुनु आबस्यक छ।

प्रतिक्रिया दिनुहोस