माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ, सदरखोर चलान

0
25

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैद सजाय पाएका माओवादी नेता तथा पूर्वसांसद बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले ढुंगेललाई मगलबार ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो । साथी भेट्न भन्दै डेराबाबाट निस्किए लगतै उनलाई साना पोसाकमा रहेको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

ओखलढुंगाका पूर्वसभासद समेत रहेका ढुंगेलकी पत्नी र परिवारका सदस्यहरु कपनमा बसोबास गर्छन् । उनी भने सुरक्षाको कारण सातदोबाटोमा डेरा लिएर बस्दै आएका थिए, जहाँ भाइ बहिनीसहित ३/४ जना बस्दै आएका थिए । ढुंगेललाई प्रहरीले पक्राउ गर्नासाथ उनका भाइले गृहमन्त्रीबाट विनाविभागीय भएका जनार्दन शर्मालाई टेलिफोन गरेर जानकारी दिएका थिए । माओवादी नेताहरुले ढुंगेलको पक्राउलाई शान्ति प्रक्रियामाथिको हस्तक्षेप भनेका छन् ।

बालकृष्ण ढुंगेललाई डिल्लीबजार कारागारको ‘ख’ ब्लकमा राखिएको छ । उनी अन्तराष्ट्रिय कुख्यात अपराधी उदय सेट्ठीसँगै थुनामा छन् । उदय अपहरणलगायत फौजदारी मुद्दामा जेलमा परेका हुन् । त्यतिमात्र नभई मंगलबारदेखि नै ढुंगेलले ‘ख’ ब्लकका जेलका नाइके टासी गुरुङको आदेश मान्नुपर्छ । टासी पनि अपहरण मुद्दामा परी जेल सजाय काटिरहेका कैदी हुन् ।

ढुंगेलको पहिलो रात भुईंमै वित्नेछ । उनले सुत्नका लागि अरु कैदिसरह खाट पाएका छैनन । बुधबार भने उनले खाट पाउन कारागार कर्मचारी स्रोतले जनाएको छ । उनलाई राखिएको ‘ख’ ब्लकमा १ सय २७ कैदीबन्दीका लागि एकल र संयुक्त खाटको ब्यवस्था छ । ‘अरुलाई खाटबाट हटाएर उनलाई खाटमा सुताउन नमिल्ने भएकाले मंगलबार उनी भूईंमै सुत्छन्’, कारागार स्रोतले भन्यो ।

ओखलढुंगा २ बाट ०६४ सालमा संविधानसभा सदस्य निर्वाचित भएका ढुंगेल सभासद रहेकै बेला अदालतबाट दोषी ठहर भएका थिए । उनीसँगै सजायँ तोकिएका पूर्वमाओवादी कार्यकर्ता पुष्कर गौतम अहिले जेलमै छन् ।

उज्जनकुमार श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले ढुंगेल विरुद्ध मुद्दा दायर गरेकी थिइन् । तर, उनी पक्राउ नपरेपछि हालै अधिवक्ता दिनेश त्रिपाठीले उनलाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए । ढुंगेलको सजायँ माफीका लागि तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रपति समक्ष सिफारिससमेत गरेको थियो । तर, सर्बोच्च अदालतले सो सिफारिस अस्वीकार गरेपछि ढुंगेल फरार अभियुक्तका रुपमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस