अाजबाट नेपाल संवत् ११३८

0
24

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । विशेषगरी नेवार समुदायले प्रत्येक वर्ष गोवद्र्धन पूजाका दिन नयाँ बर्ष मनाउने ‘नेपाल संवत्’ को क्रमिक रुपमा लोकप्रियता बढ्दै गएको पाइएको छ । विसंको कात्तिक शुक्ल पक्षको दिनमा यस संवतका प्रवर्तक शंखधर साख्वाले केही ऋणी जनताको पैसा तिरेर उनीहरुलाई ऋणमुक्त बनाएको दिनको सम्झनामा नयाँ संवत् प्रचलनमा ल्याइएको विद्वान्हरु बताउँछन् ।

पूर्व राजदूत हिरण्यलाल श्रेष्ठका अनुसार शंखधर भन्ने एक व्यापारी थिए, व्यापार गर्दागर्दै उनी धेरै धनी भएपछि गरिब जनतालाई ऋणमुक्त गरेका थिए । कान्तिपुरका एकजना साधारण नागरिक साख्वाले चलाएको संवत नेपालको मौलिक संवत भएपनि कार्यान्वयनमा चुनौती रहेको उनको भनाइ छ । कार्तिक शुक्ल पक्ष प्रतिपदाको सूर्योदयलाई नेवारीमा न्हुदँ अथवा नयाँ वर्ष भनिन्छ । नेपालमा औपचारिक रूपले यो संवत चन्द्रशमशेरको कार्यकालसम्म प्रचलनमा रहेको विश्वास छ ।

नेपाली काँग्रेसका नेता तीर्थराम डंगोलले शंखधरले घरमा ल्याएको बालुवा चार दिनपछि सुनमा परिणत भएको हुँदा त्यो सुन उनले ऋणमा डुबेका गरिब जनतालाई बाँडेर त्यसको खुशीयालीमा नयाँ संवत चलाएको विश्वास व्यक्त गरे। राष्ट्रिय विभूति शंखाधर साख्वाले विसं ९३७ -इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गराएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।

‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’ उनले भने ।

विसं २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछिदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।
यस अघी हिजो विश्वभरका हिन्दूहरुले दिपावली गरेर लक्ष्मी बोलाए । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन हिजो साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाईयो ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा बिहानै देखी घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याड लगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ ।

लक्ष्मी पूजाका लागि घरको आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ। विश्वभरीका सम्पूर्ण हिन्दूले एकसाथ मनाईने पर्ब भनेको लक्ष्मी पूजा नै हो ।

तिहारको चौथो दिन गाई, गोरु, कृषक र गोवद्र्धन पूजा गरि मनाइदै

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवद्र्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ ।

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस