एमाले–माओवादीको एकता बिदेशी चलखेलमा – अध्यक्ष महर

0
15

नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष एवं काँग्रेस यूवा नेता नैनसिंह महरले एमाले–माओवादीको एकता विदेशी आदेश र लगानीमा भएको बताएका छन् । राजधानीको कपनमा आयोजित दसैं सुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता महरले यसअघि पनि पटक पटक विदेशीको करोडौं रुपैयाँ लगानीमा सरकार परिवर्तन गर्न कम्यूनिस्ट पार्टीका उच्च नेताहरु नै प्रयोग भएको सार्वजनिक भैसकेकाले बाम एकता पनि विदेशीको इसारा, आदेश र लगानीमा भएको जिकिर गरे ।

विदेशीको इसारा र लगानीमा बाम एकता गरेर विश्वबाट लोप हुँदै गएको साम्यवाद नेपालमा लागू गर्न खोजेकाले अबको संघर्ष भनेको स्वतन्त्रताको संरक्षण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि गर्नुपर्ने महरले बताए । उनले नेपाली काँग्रेसको अगुवाइमा शान्ति प्रक्रिया हुँदै संविधान सभाबाट संविधान जारी गरी त्यसलाई लागू गरिरहेको अवस्थामा भएको बाम एकताले पुनः नयाँ संघर्षको बिउ रोपिएको विचार व्यक्त गरे ।

खुला बजार, उदारीकरण, वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रताजस्ता विषय माथि धावा बोल्ने गरी लोकतान्त्रिक पद्दत्तिलाई धरामपमा पार्ने साम्यवादी (कम्यूनिस्ट) योजना भएकाले संघ र प्रदेशको निर्वाचमा लोकतान्त्रिक शक्तिहरु सचेत हुनुपर्ने बेला आएको नेता महरले बताए । अर्काको इशारामा रचिएको साम्यवादको जालोमा मुलुकलाई फस्न नदिन संघ र प्रदेशको निर्वाचनमा लोकतान्त्रिक पक्षधर आम नागरिक, सचेत वर्ग र लोकतान्त्रिक शक्तिले एक ढिक्का हुनेपर्ने महरको धारणा छ ।