संबिधान जारी भएको दुई बर्ष पुरा

0
11

नेपालको संविधान जारी भएको आज दुई वर्ष पूरा भएको छ । दुईवटा संविधानसभाको चुनावपछि निकै लामो रस्साकस्सीबिच संविधानसभाका ९० प्रतिशत जनप्रतिनिधीहरुको हस्ताक्षरमा २०७२ असोज ३ गते संविधान जारी भएको हो।

संविधान दिवस २०७४ का अवसरमा राष्ट्रपति बिध्यादेवी भण्डारीले दिनुभएको शुभकामना सन्देशमा नेपाली जनताको लामो संघर्ष, बलिदान र प्रतीक्षापछि संविधानसभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको आजको दिन महत्वपूर्ण ऐतिहासिक दिन भएको उल्लेख गर्नुभएको छ । यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले जनआन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धी संस्थागत भएको स्वर्णिम दिन संविधान दिवसका अवसरमा देशविदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसले सबैलाई आफ्नो अधिकार र कर्तव्यप्रति समेत रहँदै राष्ट्रिय एकता र समृद्धिको मार्गमा हिँड्न प्रेरित गरोस् भन्ने कामना गर्दै यस अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देश दिँदै उहाँले नेपालको संविधान लोकतान्त्रिक मूल्यमान्यता, समावेशिता र नागरिक अधिकारको सन्दर्भमा विश्वकै उत्कृष्ट रहेको उल्लेख गर्नुभएको छ । संघीयता, शक्ति पृथकीकरण र सन्तुलन, आवधिक निर्वाचन, मानवाधिकार, सहभागितामूलक राजनीतिक प्रणाली, स्वतन्त्र न्यायपालिका, संयुक्त राष्ट्र संघको बडापत्रप्रतिको सम्मान एवं समाजवादोन्मुख अर्थतन्त्रलगायत गुणलाई संविधानले अंगीकार गरेको बताउनुभएको छ ।