प्रधानमन्त्री देउवा  भारत प्रस्थान- भारतीय विदेश मन्त्री स्वराजको स्वागत

0
20

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजकीय भ्रमणका लागि आज नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजु राणा देउवाका साथ उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमण गएका हुन्। प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीत्रय विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठले बिदाइ गरे। सो अवसरमा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

नेपाल एयरलाइन्सको विमानबाट दिल्ली पुगेका प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छन्। प्रोटोकल अनुसार विदेशी प्रधानमन्त्रीलाई स्वागत गर्न विमानस्थलमा राज्यमन्त्री जाने चलन छ। नेपालका पनि धेरै प्रधानमन्त्रीलाई इन्दिरा गान्धी विमानस्थलमा भारतीय राज्य मन्त्रीले स्वागत गरेका थिए।दोस्रो जनआन्दोलनपछि भारत भ्रमणमा जाँदा गिरिजाप्रसाद कोइरालालाई स्वागत गर्न भारतीय प्रधानमन्त्री मनमोहन सिंह नै विमानस्थलमा आएका थिए।

परराष्ट्र मन्त्रालयले तयार पारेको प्रधानमन्त्रीको प्रस्तावित भ्रमण तालिकाअनुसार आज नयाँ दिल्ली पुगेर राष्ट्रपति भवनमा केहीबेर विश्रामपछि प्रधानमन्त्री देउवाले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम रहेको छ।प्रधानमन्त्रीले भारतका उद्योगी–व्यवसायीको साझा संस्था एसोसिएटेड चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रीज अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई आजै सम्बोधन गर्नेछन्।

बिहीबार बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्रीलाई प्रधानमन्त्री मोदीले औपचारिक समारोहबीच स्वागत गर्नेछन्। त्यसपछि माहात्मा गान्धीको समाधिस्थलमा पुगेर उनले पुष्पहार अर्पण गरी अहिंसाका पुजारी गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।प्रधानमन्त्री देउवासँग बिहीबारै भारतका बाह्य मामिला मन्त्री सुष्मा स्वराजले शिष्टाचार भेट गर्नेछिन् भने त्यसलगत्तै हैदरावाद हाउसमा दुवै देशका प्रधानमन्त्रीबीच सहयोगीरहित एक्लाएक्लै भेटवार्ता हुनेछ।