राप्रपा फुट प्रकरण दोहोरिदै-नयाँ दल दर्ताको निवेदन आयोगमा

0
21

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा फुटेको छ । अध्यक्ष कमल थापासँग असन्तुष्ट नेता पशुपति शम्शेर राणाले पार्टी फुटाएर नयाँ पार्टी खोलेका हुन्। ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ नामको नयाँ दलको नेतृत्व राणाले गर्ने भएका छन्। नयाँ पार्टी खोल्नका लागि केन्द्रीय समिति र संसदीय दलको ४० प्रतिशत सदस्यको आवश्यकता रहन्छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन गरी नयाँ दल दर्ताका लागि पशुपति शम्शेर राणा पक्षले दिएको निवेदन निर्वाचन आयोगले दर्ता गरेको छ। कमल थापा नेतृत्वको राप्रपाबाट अलग भएर नयाँ पार्टी खोलेका पशुपति शम्शेर राणाले झण्डै पाँच दर्जन नेताको हस्ताक्षर सहितको नामावली निर्वाचन आयोगमा बुझाएका छन् । नयाँ दल दर्ता प्रयोजनका लागि राणाले पार्टी पदाधिकारी, सांसद र केन्द्रीय सदस्यहरुको नामावली बुझाएका हुन् । राणाको नेतृत्वमा गठन भएको नयाँ दल राप्रपा (प्रजातान्त्रिक) ले गणतन्त्रको पक्षमा उभिने संकेत दिएको छ । नयाँ पार्टीको मुख्य एजेण्डा संघीय लोकतान्त्रिक गणतन्त्र र सनानत हिन्दु राष्ट्र हुनेछ । राप्रपा नेपाल र राप्रपाबीच एकता गर्दा राजसंस्थासहितको लोकतन्त्रलाई पार्टीको मुख्य राजनीतिक कार्यदिशा बनाइएको थियो ।

राप्रपाबाट अलग भएका पशुपति शमशेर राणाले संसद सचिवालयमा पार्टी बिभाजन भएको जानकारी पनि गराएका छन् । उनले आफ्नो पक्षमा २२ जना सांसदहरु रहेको दाबी गरे पनि संसद सचिवालयमा बुझाइएको नामावलीमा १९ जनाको नाम छ । सांसदहरु दिपक बोहरा, सुनिल थापा, विक्रम पाण्डे, रामकुमार सुब्बा, रेशमबहादुर लामा, विराज विष्ट, राज्यलक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा पासवान, रमेश कुमार लामाको राणाको पक्षमा छन् । यसैगरी सइन्द्र वान्तवा, गिता सिंह, बबिना मोक्तान, धानो महरा, सिता लुइँटेल ज्ञवाली, राज्यलक्ष्मी देबी शाह, इस्तियाक अहमद खाँ, सरोज शर्मा, कमला देबी शर्मा, आनन्दी पन्त पनि राणा पक्षमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस