डा. केसीले सोमबार ११ औं अनसन सुरु गरे

0
32

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका प्रा. डा. गोविन्द केसीले सोमबार अपराहृन ४ बजे अस्पतालमा  ११ औं अनसन सुरु गरेको घोषणा गरे । दसौं सत्याग्रह क्रममा सरकारसँग भएको सम्झौता कार्यान्वयनसहित विभिन्न सातबुँदे माग राख्दै त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसीले सोमबार एघारौं अनसन सुरू गरेका छन्।

अनसनअघि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी डा. केसीले आफूसँग विभिन्न समयमा भएका सम्झौता कार्यान्वयनका लागि तीनपटक अल्टिमेटम दिँदा पनि सरकारले वास्ता नगरेपछि सत्याग्रह बस्न बाध्य भएको बताए। यसपालि डा. केसीले राखेका मागको पहिलो बुँदा नै चिकित्सा शिक्षा ऐन पारित गरियोस् भन्ने छ।

चिकित्सा शिक्षा सुधारको निम्ति गठित माथेमा कार्यदलको सुझावअनुरुप चिकित्सा शिक्षा विधेयक तर्जुमा गरिएको थियो। यसलाई संसदबाट पारित गरी लागू गर्ने सहमति अघिल्लो अनसनकै क्रममा भएको थियो। चिकित्सा शिक्षामा व्याप्त बेथिति रोक्न महत्वपूर्ण मानिएको उक्त विधेयक पारित हुन नदिएर सरकार र राजनीतिक दलहरूले जनतालाई बेइमानी गरेको उनले बताए।

एमडी, एमएस र एमडिएस तहको शुल्क यसै शैक्षिक वर्षदेखि लागू हुने गरी काठमाडौं विश्वविद्यालयमा जस्तै सबै निजी मेडिकल कलेजहरूका लागि २२ लाख रुपैयाँ कायम गर्र्न पनि उनले माग राखेका छन्। अस्पताल र मेडिकल कलेज देशका एकाध ठूला सहरमा मात्र केन्द्रित हुँदा गुणस्तरीय स्वास्थ्यको पहुँचबाट एकचौथाइ जनता विमुख भएको केसीले बताए। त्यो अवस्थाबाट मुक्त हुन प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज खोल्ने भनी सरकारसँग सम्झौता भए पनि कार्यान्वयन नभएको उनको भनाइ छ।

‘व्यवस्थापिका संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक पारित हुन नदिन राजनीतिक दल, सांसद र सरकार नै लागेको छ,’ डा. केसीले भने, ‘उनीहरू स्वास्थ्य शिक्षामा गरिबको पहुँच पुग्न नदिने प्रपञ्चमा लागेका छन्।’ उक्त ऐन रोकिएको मौका छोपेर विद्यार्थी भर्ना, सिट र शुल्क निर्धारणमा चरम अनियमितता भएको केसीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस