प्रदेश नम्बर २ बाट क्षतिपूर्ति गर्दै कांग्रेस पहिलो पार्टी हुँदै,नेपाली काँग्रेस प्रदेश नं २ को भेला राजधानीमा 

0
82

नेपाली कांग्रेसका शीर्ष नेताहरुले प्रदेश नम्बर २ मा पहिलो पार्टी हुने मात्र होइन, दुई चरणमा व्यहोरेको हारको क्षतिपूर्तिसमेत गर्ने योजना अघि सारेका छन् ।असोज २ को चुनावलाई लक्षित गरेर कांग्रेसले प्रदेश नम्बर २ को भेला राजधानीमा बोलाएको छ । विहीबार उदघाटन गरिएको भेलामा जिल्ला सभापतिहरुका साथै क्षेत्रीय सभापति, उम्मेदवारका आकांक्षीहरु, सांसद, केन्द्रीय सदस्य र पूर्व सांसदहरुलाई बोलाइएको छ । कार्यक्रम्को उद्घाटन गर्दै प्रधानमन्त्री एबम् कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो र दोस्रो चरणमा व्यहोरेको हारका दुई कारण बताएः एउटा- उम्मेदवार छनोटमा भएको ढिलाइ र दोस्रो अन्तरघात ।

प्रधानमन्त्री देउवाले अगाडि भने, ‘अनुशासन समिति बनाएर अन्तरघातीलाई पार्टीबाट निकाल्छु । अन्तरघातीलाई कारबाही नगर्ने हो भने भोलि पनि अन्तरघात हुन्छ र पार्टी कहिल्यै ठूलो हुन सक्दैन ।’ उम्मेदवारको दाबी गर्ने सबैले जित्छु भन्ने गरेको तर, टिकट एउटाले मात्रै पाउने भन्दै उनले उम्मेदवार नहुनेहरुलाई पार्टीबाट अरु काम दिन सकिने धारणा राखे । उनले अघि भने, समयमै उम्मेदवार तय गरौं । तर, नपाउने पनि सहयोग गर्नुपर्छ ।’ 

प्रादेशिक भेलाको सुभारुम्भ गर्दै कांग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधिले प्रदेश नम्बर २ मा १०० सीट जित्ने लक्ष्य सुनाए । पहिलो र दोस्रो चरणको चुनावबाट एमाले पहिलो पार्टी भएको र कांग्रेसभन्दा ५० सीट बढी जितेको भन्दै उनले अब प्रदेश नम्बर २ ले सबैको क्षतिपूर्ति गर्दै कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्ने बताए ।

समयमै उम्मेदवार टुंगो लगाउने र असन्तुष्टि व्यवस्थापन गर्दै चुनाव प्रचारमा जानुपर्ने भन्दै निधिले बताए, एकतावद्ध भएर लाग्यौं भने कांग्रेसलाई पहिलो पार्टी बनाउन सक्छौं ।’ अनौपचारिक रुपमा आफूले गरेको अध्ययनले सप्तरी र सिराहा बाहेकका ६ जिल्लाका ९६ स्थानीय तहमध्ये १९ मा मात्रै एमालेको प्र्रभाव रहेको पाइएको निधिले सुनाए । 

प्रतिक्रिया दिनुहोस