तीन प्रदेशमा ३३४ स्थानीय तहकोआज निर्वाचन हुँदै – निर्धक्क भई मतदानमा सहभागी हुन प्रधानमन्त्री देउवाको आग्रह

0
13

प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहको नेतृत्व चयनका लागि आज बिहान ७ बजेदेखि मतदान हुँदैछ। ७ सय ४४ स्थानीय तहमध्ये प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ मा यसअघि वैशाख ३१ गते निर्वाचन भइसकेको छ भने प्रदेश नम्बर २ का १ सय २७ स्थानीय तहमा तेस्रो चरणमा असोज २ गते मतदान हुने भएको छ।

पहिलो चरणझैँ यसपटक पनि गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित, महिला वडा सदस्य पदका लागि निर्वाचन हुनेछ। दोस्रो चरणको निर्वाचनमा एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुनेछ ।

तीन प्रदेशका स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनेछन्। चार हजार ५ सय ८१ मतदानस्थलका आठ हजार ३ सय ६८ मतदान केन्द्रमा मतदान हुँदैछ।

 यसै अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणअन्तर्गत बुधबार हुने स्थानीय तहको निर्वाचनमा निर्धक्क भई आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान गरेका छन्। 

मंगलबार एक सन्देश दिँदै प्रधानमन्त्रीले प्रदेश नम्बर १, ५ र ७ का मतदातालाई निर्धक्ककासाथ मतदानमा सहभागी हुन आह्वान गरेका हुन्।’यस ऐतिहासिक अवसरमा प्रथम चरणको निर्वाचनमा सहभागी नागरिकको जस्तै सक्रिय रुपमा भाग लिई आफ्नो मताधिकारको प्रयोग गर्न म सम्पूर्ण मतदाता दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक अपिल गर्दछु।’

प्रधानमन्त्री देउवाले सन्देशमा भनेका छन्,’सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले संविधानसभामार्फत बनाएको नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको सङ्घीय शासन प्रणालीको व्यवस्था गरेकोमा जनताको सबै भन्दा नजिक रहेको जनप्रतिनिधि छनोट गर्ने अन्तिम अवसरको सदुपयोग गर्ने समयमा नेपालीहरु उभिएको छ।’ सन्देशमा उनले भनेका छन् ।

चुनावी मैदानमा ६२ हजार उम्मेदवार 

आजको चुनावमा प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा ६४ लाख ३२ हजार ७६५ मतदाता छन् ,निर्वाचनबाट १५ हजार ३५ प्रतिनिधि चयन हुनेछन् । अधिकांश जिल्लामा बिहानैदेखि पानी परिरहेको छ । तर, मतदाताहरु मतदान केन्द्रमा बिहानैदेखि भेला भएका छन् । आयोगका अनुसार ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उनीहरु मध्ये ४१ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचनका लागि ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् ।