भरतपुर महानगरपालिका वडा नम्बर १९ का च्यातिएका मतपत्र काठमाडौँ ल्याईए

0
6

सर्वोच्च अदालतको आदेश अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतगणनाका क्रममा च्यातिएका मतपत्र काठमाडौँ ल्याईएको छ। प्रहरीको कडा सुरक्षा घेराभित्र मंगलबार बिहान बुद्ध एयरको ८ः१५ को नियमित उडानबाट मतपत्र काठमाडौँ ल्याईएको हो। अदालतको आदेश अनुसार मतपत्र इजलासमा पेस हुनेछ।

त्यस्तै मतपत्र च्यात्ने कार्यमा संलग्न रहेका माओवादी कार्यकर्ता द्रोण सिवाकोटी र मधु न्यौपानेलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको मुद्दाको सक्कल मिसिल समेत सर्बोच्च अदालतमा पेश गरीसकिएको छ। सर्वोच्चले भरतपुर महानगरपालिका वडा नम्बर १९ को पुनः मतदान गराउने निर्वाचन आयोगको सक्कलप्रति समेत झिकाएको थियो । ती सबै मिसिल र निर्णयहरु हरेपछिमात्र अदालत निष्कर्षमा पुग्नेछ ।

कामु प्रधान न्यायाधीश गोपालप्रसाद पराजुली र हरिकृष्ण कार्कीको संयुक्त इजलासले ती कागजपत्र पेश गर्न एक साताको समय दिएको थियो । अदालतले सक्कल कागजात र मिसिल पेश गर्नु भनेको आज सात दिन पुगेको छ । अदालतले मागेका सबै कागजपत्रहरु सर्वोच्च अदालतमा पेश भए पनि आजै बहस र फैसला भने हुने छैन । अदालतले मागेका प्रमाणहरु जम्मा भएपछि अर्को पेशी तोकिने र त्यही दिन बहसका क्रममा ती कागजहरु इजलासमा पेश हुने सर्बोच्च प्रशासनले जनाएको छ ।

अदालतले यसअघि जेठ २२ गते अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो। उक्त अन्तरकालीन आदेशले निरन्तरता पाए पुनः मतदान गर्ने आयोगको निर्णय रोकिनेछ। अन्तरकालीन आदेश बदर भएमा भरतपुर १९ पुनः मतदान हुनेछ। भरतपुर महानगरपालिकाका २९ वडामध्ये २७ वटा वडाको मतगणना सकिँदा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले ७८३ मतले माआवादी र कांग्रेसकी साझा उम्मेदवार रेणु दाहाललाई पछि पारेकी थीइन् । १९ नम्बर वडाको मत गणना आधा भन्दा बढी सकिएपछि मतपत्र च्यातिएको थियो ।

प्रतिक्रिया दिनुहोस