राजपा दुई महिना टिकेन पार्टी एकताको उत्साह

0
7

बैशाख ६ गते मध्यरातमा जावलाखेलस्थित एउटा घरमा ‘हाम्रो आत्मा मिल्यो’ भन्दै पार्टी एकताको घोषणा गरेका राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरुले आफ्नै कार्यकर्ताको ईच्छा अनुकुल कार्यनीति बनाउन नसक्दा मधेसमा पहिलो पार्टी बन्ने अवसर गुमाउने संकेत देखिएको छ । मधेसी मोर्चामा आवद्ध नेताहरुमध्ये उपेन्द्र यादवले कडा कुरा गरिरहेका बेला राजपाको पुनर्गठनलाई मधेसको मध्यमार्गी दलका रुपमा हेरिएको थियो र अब यसले २ नम्बर प्रदेशमा आफूलाई पहिलो दलका रुपमा उभ्याउने धेरैले अनुमान गरेका थिए ।

राजपाको एकताले उपेन्द्र यादव र विजय गच्छदारलाई साइजमा ल्याउन सक्ने धेरैको अनुमान थियो । २ नम्बर प्रदेशको मुख्य मन्त्री पनि राजपाले लिन सक्ने अनुमान धेरै मानिसहरुले गरेका थिए ।

पार्टी एकताले राजपालाई भौतिक मात्रै होइन, मनोवैज्ञानिक तागत पनि दिएको थियो । तर, उसले पाएको यो ताकत दुई महिना नपुग्दै नेताहरुको अदुरदर्शिताका कारण धुलिसात हुने बाटोमा पुगेको छ ।

नेताहरुले सही समयमा सही कार्यनीति अपनाउन सकेनन् भने कस्तो हालत हुन्छ भन्ने कुरा राप्रपा, नयाँ शक्ति र मोहन वैद्यको माओवादीलाई हेर्दा प्रष्ट हुन्छ । स्वयं माओवादी केन्द्रको ०६४ पछिको नीतिलाई हेर्दा पनि यो स्पष्ट हुन्छ । त्यतिमात्रै होइन मधेसकै पुरानो पार्टी सदभावना र नयाँ उदाएको फोरम नेपाललाई पनि हेर्दा हुन्छ ।

दोस्रो संविधानसभाको गणितका आधारमा विश्लेषण गर्दा विभिन्न ६ वटा दल आवद्ध राजपाले पाएको देशभरिको मत करिब ५ लाख देखिन्छ । यो मत भनेको अन्य मधेसवादी दलहरुको भन्दा बढी हो । त्यसबेला विजय गच्छदारको पार्टीले करिब ३ लाखको हाराहारी मत पाएको थियो । उपेन्द्र नेतृत्वको फोरम नेपालले २ लाख मत पाएको थियो । संघीय समाजवादीसँग एकता भएपछि उपेन्द्र यादवको देशभरिको मत ३ लाख भन्दा बढी हुन्छ ।

विभिन्न ६ वटा पार्टीहरुवीच एकता गरेर मधेसमा उत्साहको सञ्चार गराएको राजपाले डेढमहिना अघिको स्पिरिटलाई कायम राख्न सकेको भए २ नम्बर प्रदेशमा ऊ पहिलो पार्टी बन्ने सम्भावना थियो । यो हिसाबका आधारमा विश्लेषण गर्दा राजपा भौतिक एवं गणितीय हिसाबले नै मधेसमा ठूलो दल बन्ने सम्भावना थियो । तर, उसको बहिस्कारवादी नीतिका कारण यसको सोझो फाइदा अब उपेन्द्र यादवलाई पुग्ने भएको छ ।

राजपाका नेताले बैशाखको पहिलो साता पार्टी एकता गर्दैगर्दा उपेन्द्र यादव एक्लिए भनेका थिए, गच्छदारको राजनीति सकियो भनेका थिए । तर, राजपाकै राजनीति चाहिँ यतिबेला धरापमा परेको छ । तर, अझै पनि समय सकिएको छैन । असार २ गते मनोनय दर्ता गर्ने बेला नहुँदै राजपाको बैठकले संघर्षका कार्यक्रम हैन, उम्मेदवार घोषणा गर्नेबारे छलफल गरोस् ।

अन्यथा एउटा सम्भावना बोकेको मधेसको पार्टी आफ्नै गलत कार्यनीतिका कारण विसर्जनको बाटोमा गएको वियोगान्त कथा बन्न सक्छ ।