काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्याशुन्दर शाक्य विजयी-कांग्रेसकी हरिप्रभा खड्गी उपमेयरमा निर्वाचित

0
15

काठमाडौं महानगरपालिकाको मेयरमा ने.क.पा. एमालेका विद्याशुन्दर शाक्य विजयी भएका छन् । शाक्य कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई १९ हजार बढी मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।१३ दिनसम्म चलेको मत गणना शनिबार मध्यरातमा सकिएको छ । तर, औपचारिक घोषणा आइतबार विहान मात्र भएको छ । शाक्यले ६४ हजार ९१३ मत पाएका छन् । उनका निकटमत प्रतिद्वन्द्वी कांग्रेसका राजुराजले ४५ हजार २६९ मत पाए ।

विवेकशील नेपाली दलकी रञ्जु दर्शना तेस्रो भइन् । उनले २३ हजार ४३९ मत पाएकी छन् । साझा पार्टीका किशोर थापा १८ हजार ४९६ मतसहित चौथो भएका छन् । कांग्रेसकी हरिप्रभा खड्गी उपमेयरमा निर्वाचित भइन् । उनले ५८ हजार ९५२ मत पाइन् ।उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत पाए भने तेस्रो स्थानमा रहेकी साझा पार्टीकी निरुपमा यादवले ११ हजार ५३३ मत पाइन् ।

निर्वाचन परीणाम घोषणापछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको विकासमा सबैसँग सहकार्य गर्ने बताएका छन् । उनले सुन्दर, सम्बृद्ध, सुरक्षित काठमाडौं बनाउने आफूहरुको लक्ष्य रहेको बताए ।उनले अघि भने, ‘नेपाली कांग्रेस सहितका सबै दलले सम्मानजनक मत पाएका छन् । सबैको चित्त बुझाएर महानगरको विकासमा सबै सग सहकार्य गरेर अघि बढ्छु ।’

साझा पार्टीले काठमाडौं महानगरपालिकाका नवनिर्वाचत मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरीप्रभा खड्कीलाई बधाई दिएको छ ।पार्टीका प्रवक्ता सूर्यराज आचार्यले विज्ञप्ति निकाली नवनिर्वाचित मेयर र उपमेयरलाई बधाई दिनुका साथै सझा पार्टीका उम्मेदवारहरुलाई मतदान गर्ने मतदाताहरुलाई धन्यवाद दिएका हुन् ।

नवनिर्वाचित मेयर र उपमेयरलाई साझा पार्टीका सबै प्रकारका सहयोग हुने र राजधानीबासीको सपना पूरा गर्ने साझा पार्टीले शुभकामना दिएको छ ।छोटो समयमा संगठन नबनेकै अवस्थामा साझा पार्टीको उम्मेदवारले प्राप्त गरेको मतले साझा पार्टीलाई भरपर्दाे विकल्पको रुपमा लिइएको प्रष्ट भएको समेत विज्ञप्तिमा उल्लखे गरिएको छ ।