गणेशमान सिंह स्मृति पार्कको मुलद्धारको जहरसिंहपौवामा उद्घाटन, आर्थिक क्रान्तिको नेतृत्व काँग्रेसले गर्छ नेता सिंह

0
34

सविना ढकाल, काठमाडौं,

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान निर्माणमा सहमति जुटेजस्तै स्थानीय तहको निर्वाचनमा पनि दलहरुबीच सहमति जुट्नुपर्ने बताउनुभएको छ ।लौहपुरुष गणेशमान सिंहको स्मृतिमा निर्माण भएको गणेशमान सिंह स्मृति पार्कको मुलद्धारको आज जहरसिंहपौवामा उद्घाटन गर्दै नेता सिंहले दश महिनाभित्र तीन तहको निर्वाचन गर्नुपर्ने भएकाले दलहरुबीच सहमति आवश्यक रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “राजनीतिक स्थिरता भयो भने  मात्र देशमा बिकास काे गतिमा अघि बढ्न सक्छ त्यसैले दलहरुबीच सहमति जुटाउनु जरुरी छ ।”

उहाँले वैशाख ३१ गतेलाई निर्वाचनको मिति तोकिसकेको भन्दै निर्वाचन कुनैपनि हालतमा सर्न नसक्ने बताउनुभयो ।

नेता सिंहले नेपालमा भएका हरेक राजनीतिक परिवर्तनको नेतृत्व काँग्रेसले गरेको भन्दै अव आर्थिक क्रान्तिको नेतृत्वपनि काँग्रेसले गर्ने स्पष्ट पार्नुभयो । उहाँले विस २०४६ सालको परिवर्तनमा गणेशमान सिंहको ठूलो भूमिका रहेको भन्दै सिंहको स्मृतिमा पार्क बनाएर उहाँको योगदानको उच्च मुल्याङ्कन भएको बताउनुभयो ।काँग्रेस काठमाडौँ जिल्लाका सभापति कृष्ण सबुज बानियाँले लौहपुरुष गणेशमानको योगदानलाई राज्यले विर्सन नहुने बताउनुभयो । उहाँले विकासका लागि राजनीतिक दलभन्दा माथि उठेर काम गर्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

सांसद दीपकप्रसाद कुँइकेलले स्मृति पार्कसँगै निर्माण भएका होटल व्यवसायले यहाँको अर्थतन्त्रलाई मजवुद बनाउन, सामाजिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक महत्व बोकेको शङ्करापुरको विकासका लागि गणेशमान सिंह स्मृति पार्कले सहयोग पुग्ने बताउनुभयो । पार्कका अध्यक्ष शङ्कर तिवारी, काँग्रेस काठमाडौँ क्षेत्र नं २ का सभापति उपेन्द्र कार्की, नेकपा (एमाले) काठमाडौँ क्षेत्र नं २ का अध्यक्ष सुवर्ण श्रेष्ठ, काँग्रेस युवा नेता युपी लामिछाने, नेकपा माओवादी केन्द्रका नेता मधु केसी, राप्रपाका नेता सूर्य तामाङलगायले प्रशस्त सम्भावना बोकेको क्षेत्र शङ्करापुरको विकास र विस्तारका लागि आफुहरु एक भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

विस २०७१ सालदेखि ३०० रोपनी क्षेत्रफलमा बन्न लागेको उक्त पार्क निर्माणमा तीन अर्व लाग्ने पार्क निर्माण समितिले जनाएको छ । हालसम्म चार करोड रकम बराबरको काम भइसकेको छ । पार्कभित्र फुटवल मैदान, ब्याडमिन्टन कोर्ट, भलिवल मैदान, भ्यू टावर, पोखरी, हेलिप्याड, गणेशमान सिंहको शालिक, रेष्टुरेन्टलगायत रहने समितिले जानकारी दिएको छ

प्रतिक्रिया दिनुहोस