प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फिर्ता

0
11

प्रधानमन्त्री पुष्पकमल दाहाल साताव्यापी चीन भ्रमण सकेर स्वदेश फर्किएका छन्। प्रधानमन्त्री दाहाल बिहान ११ बजे एयर चाईनाबाट स्वदेश फर्किएका हुन्। हाईनानस्थित बोआओ फोरममा सहभागी हुन गत बिहीवार चीन गएका प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङ लगायत चिनियाँ उच्च नेतासँग महत्वपूर्ण भेटवार्ता गरेका थिए। बोआओ सम्मेलनलाई सम्वोधन गरेपछि वेईजिङमा महत्वपूर्ण राजनीतिक भेटवार्ता गरेका दाहाल छेन्चु हुँदै हिजो ल्हासा आएका थिए। उनी आज ल्हासाबाटै काठमाडौं फर्किएका हुन्।

वेईजिङस्थित ग्रेट हल अफ द पिपलमा चिनियाँ राष्ट्रपति सी सँग प्रधानमन्त्री दाहालले महत्वपूर्ण सम्झौता नगरेपनि दुई मुलुकवीचको सम्वन्ध सुधारका लागि भ्रमण फलदायी भएको सरकारले दावी गरेको छ। चिनियाँ राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री दाहालले दुई पक्षीय सम्वन्धका साथै वान वेल्ट वान रोड ओवर परियोजनामा नेपालको सहभागिता तथा एक चीन नीति प्रति प्रतिवद्धता जनाएका थिए। प्रधानमन्त्री दाहालसंगको भेटमा चिनियाँ राष्ट्रपति सी ले समेत संविधान कार्यन्वयनको चरणमा नेपाललाई सबै खाले सहयोग गर्न तयार रहेको आश्वासन दिएका थिए।

प्रधानमन्त्री दाहालले यस पटक देशका सबै राजनीतिक दलको सहमतिले निर्वाचन होस् र राजनीतिक स्थिरताको वातावरण बनोस् भन्ने चिनियाँ पक्षको चासो रहेको बताए । निर्वाचन कुनै पनि हालतमा हुने बताउँदै प्रधानमन्त्री दाहालले भने, ‘मधेस केन्द्रित दलको सहभागितामा निर्वाचन हुन्छ, त्यो मलाई विश्वास छ ।’