बीर शहिद गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि,

0
15

भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली हानी हत्या गरेका नेपाली गौविन्द गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्योष्टि गरिएको छ ।कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थिव शरीरमा उनका पिता ७२ बर्षीय खेमलाल गौतमले दागबत्ती दिए ।गौतमको अन्त्येष्टी कार्यक्रममा कैलाली र कञ्चनपुरका हजारौं नागरिकले स्वतः स्फुर्त सहभागिता जनाएका थिए ।यसअघि धनगढीस्थित सेती अञ्चल अस्पतालबाट उनको शवयात्रा निकालिएको थियो । होली नमनाउने घोषणा गर्दै कैलाली र कञ्चनपुरका हजारौंले शवयात्रामा सहभागिता जनाएका थिए ।

सरकारले शहीद घोषणा गरिसकेका गौतमको सम्मानमा नेपाल प्रहरीले ११ तोपको सलामी दिएको थियो । उनको शवयात्रा धनगढी, डोकेबजार, चौराहा, त्रिनगर भन्सार हुँदै दोदा लगिएको थियो । उनको शव गृहनगर पुनर्वासमा श्रद्धाञ्जलिका लागि केहिबेर राखिने भनिएपनि समयअभावका कारण सीधै दोदा नदी किनार लगिएको थियो । शवयात्रामा सहभागीहरुले बीर शहिद अमर रहुन्, शहिद गोविन्द गौतम जिन्दावाद लगायतका नारा लगाइरहेका थिए ।

शवयात्रामा हजारौं नागरिक सहभागी थिए । शवयात्रामा कैलाली र कञ्चनपुरका सुरक्षा अधिकारीहरु, सरकारी उच्च कर्मचारीहरु, राजनीतिक दलका प्रतिनिधिहरु लगायत थिए ।

प्रतिक्रिया दिनुहोस