एमालेको मेची-महाकाली अभियानका क्रममा चार जना मोर्चाका कार्यकर्ताको मृत्यु मंगलबार र बुधबार मधेस बन्द

0
17

नेकपा एमालेको मेची-महाकाली अभियानका क्रममा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच सप्तरीमा भएको झडपमा चार जना मोर्चाका कार्यकर्ताको मृत्यु भएको छ ।

राजमार्गहुँदै पूर्वबाट आएको नेकपा (एमाले)को जुलुस सुरुमा भारदहबाटै हनुमाननगर भएर राजविराजहुदै आमसभास्थल आउने योजना थियो। तर, अचानक जुलुसले मार्ग परिवर्तन गरेर रुपनीबाट प्रवेश गर्दा जुलुसको विरोध गर्ने तयारीमा रहेका मोर्चाका समर्थकहरु उतै सीमित हुन पुगे। यसरी राजविराज नभएरै सोझै आमसभास्थलमा जुलुस जम्मा भएपछि आमसभा सुरुभएको थियो। त्यसपछि झण्डै एक हजारभन्दा बढी प्रदर्शनकारीहरुको दबाब आमसभास्थलतर्फ बढ्न थाल्यो। त्यसलाई सुरुदेखि प्रहरीले दक्षिणतर्फै रोक्ने हिसाबले सबै उपायहरु अपनाएको थियो। प्रहरी घेरा छलेर जान खोज्नेलाई समातेर कुट्ने र गिरफ्तार गर्ने क्रम चलिरहेको थियो। जान नपाएपछि प्रदर्शनकारीले ढुगामुढा गर्ने गरिरहेका थिए। त्यस क्रममा दुइ सय राउण्डभन्दा बढी अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरिएको थियो। लाठीप्रहार अनगिन्ती पटक भए।

यसरी अघि बढेको आमसभा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले बोल्ने बेलासम्म प्रहरीलाई नियन्त्रण गर्न अत्यन्तै हम्मे परिसकेको थियो। प्रदर्शनकारीको भीँड पनि आमसभास्थलबाट निकै नजिक आइसकेको थियो। यस्तोमा जुलुस आमसभास्थलबाट बाहिरिएपछि भीँड अझ तनावग्रस्त हुनपुग्यो। सायद सकिएको कारण अश्रुग्याँसको प्रहार कम भइसकेको थियो। त्यसमाथि हावाको वहाव विपरित भएको कारण प्रदर्शनकारीले उठाएर फालेको अश्रुग्याँसले उल्टो प्रहरी बढी पीडित थिए। फोहोराका निम्ति ल्याइएको पानी पनि सकिएको थियो। यस्तोमा स्थिती चर्किँदै गएपछि प्रहरीले हिर्काएको गोली प्रायः घाइतेलाई कम्मरमाथि नै लागेको छ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा मंगलबार र बुधबार मधेस बन्द गर्ने घोषणा 

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सप्तरी घटनापछि बसेको बैठकले फागुन २४ र २५ गते दुई दिन मधेस बन्द गर्ने निर्णय गरेको छ। संघीय समाजवादी फोरम, नेपालको कार्यालय तीनकुनेमा सोमबार राति बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पनि छलफल भएको थियो। राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले हाम्रो सेरोफेरो लाई बताए अनुसार सरकारलाई समर्थन फिर्ता लिएकोबारे मंगलबार सभामुख पत्र बुझाइने उल्लेख गरेका थिए। यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा कुनै अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीलाई निर्देशन दिएका थिए । सप्तरीमा सोमबार भएको प्रदर्शनमा पनि संयम हुन निर्देशन दिएका थिए । उनले प्रदर्शनकारीमाथि गोली नचलाउनसमेत निर्देशन दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।घटना पछी कैलाली कांग्रेसले मंगलबार आयोजना गर्ने कार्यक्रममा भाग लिन गएका गृहमन्त्री विमलेन्द्र निधि सोमबार राति नै काठमाडौं आएका  छन् । उनले एमाले अध्यक्ष केपी ओली र तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग टेलिफोन वार्ता गरेका छन् । 

मोर्चाले मंगलबार र बुधबारका लागि आहृवान गरेको बन्दका कारण मधेसका अधिकांश जिल्लामा सवारीसाधान चलेका छैनन् । बजार पसल समेत बन्द छ । मोर्चाका कार्यकर्ताहरुले विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन् । स्थितिलई भड्कन नदिन ठूला संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् ।

सप्तरीका सीडीओ र एसपीलाई काठमाडौं झिकाईए

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सप्तरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई काठमाडौं बोलाएका छन् ।प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई फोन गरेर सीडीओ उद्धवप्रासद तिमल्सिना र एसपी दिवेश लोहनीलाई काठमाडौं बोलाउन भनेका छन् ।

प्रतिक्रिया दिनुहोस