तेल ढुवानीमा हुने चोरी रोक्न नयाँ नियम

0
11

नेपाल आयल निगमले तेल ढुवानीका क्रममा हुने चोरी रोक्न नयाँ नियम  ल्याएको छ । र त्यसको प्रतिक्रिया स्वरुप ट्यांकर चालकहरुले आन्दोलनको घोषणा गरेका छन् । आयल निगमले ढुवानी बिनियमावली संशोधन गर्दै ट्यांकर चालकले देखाउने गरेको दावीयोग्य नोक्सानी (क्लेमेबल लस) लाई ढुवानी भएको कुल तेलको ०.२५ प्रतिशत मात्रै हुनुपर्ने गरी झारेको छ । त्योभन्दा बढी तेल ट्याकंरबाट हराए वा चोरिएमा जरिवाना स्वरुप दोब्बर तेल वा सोही बराबरको रकम निगमलाई भुक्तानी गर्नुपर्ने ब्यवस्था गरिएको छ । अर्थात, १ लाख लिटर तेल ढुवानी गर्दा अब २५० लिटरभन्दा बढी तेल हराएमा ५ सय लिटर तेल वा सो बराबरको जरिवाना रकम भुक्तानी गर्नुपर्नेछ ।

यसअघि दाबीयोग्य नोक्सानी जति भए पनि उनीहरुले त्यसको रकम भुक्तानी गर्न पाउँथे । यही नियमका कारण असहज अवस्थामा कतिपय ट्यांकर चालकले बाटोबाटै तेल कालोबजारी गर्दै बेच्ने गरेका थिए । उनीहरुले हराए बराबरको तेलको भुक्तानी निगमलाई दिएर डिपोमा नआइपुग्दै महंगोमा तेल बेच्दा बेला-बेलामा निगमलाई तेलको आपूर्ति तथा वितरणमा असहज हुने गरेको छ ।

यसैको बिरोधमा ट्यांकर चालकले शुक्रबार देशभर तेलको ढुवानी रोकेका थिए । उनीहरुले अवैज्ञानिक तवरले निगमले नियम लाद्न खोजेको आरोप लगाएका छन् । र, निगमले निर्णय फिर्ता नलिए फागुन १५ गतेबाट तेलको ढुवानी रोक्ने चेतावनी ट्यांकर चालकहरुले दिएका छन् ।आयल निगमका प्रवक्ता भानुभक्त खनाल ट्यांकर चालकसँग वार्तामार्फत यो विवाद समाधान गरिने बताउँछन् । 

यसैगरी ट्याकंर चालकहरुले तेल ढुवानी गर्दा प्राविधिक रुपमा हुने तेलको नोक्सानीलाई पनि घटाउन माग गरेका छन् । ढुवानीका क्रममा तेल छचल्किँदा र तापक्रम फरक पर्दा हुने प्राविधिक नोक्सानी मात्र घटाउन उनीहरुको माग छ ।ट्यांकर चालकले माग पूरा नभए अनिश्चितकालसम्म तेल ढुवानी रोक्ने भन्दै निगमलाई चेतावनीपत्र दिएका छन् ।

प्रतिक्रिया दिनुहोस