सडक निर्माणका क्रममा आफूहरुको गाँसबास नै उठ्ने भन्दै म्याङलुङका पीडितले ट्र्याक परिवर्तन गर्न माग

0
13

सडक निर्माणका क्रममा आफूहरुको गाँसबास नै उठ्ने र सुकुम्वासी हुनुपर्ने अवस्था सृजना हुने भन्दै म्याङलुङका करिब दुईसय घरधुरीले लोकमार्ग पीडित सरोकार समिति नै गठन गरेर कम क्षति हुनेगरी ट्र्याक परिवर्तन गर्न माग गरेका छन् । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सरोकार समितिले आफूहरुको आवासको अधिकारलाई रक्षा गर्दै लोकमार्ग निर्माण गर्न विभिन्न विकल्प सहितका माग राखेको छ। म्याङलुङ बसपार्कदेखि जिरीखिम्ती र हलिमेला जाने बाटोमा करिब एक किमी दूरीभित्र सडकको ट्र्याक परिवर्तन गर्न माग गरिएको सरोकार समितिका अध्यक्ष लालबहादुर खत्रीले बताए। 

विभिन्न समयमा पत्रपत्रिकामा आएका समाचारमा लोकमार्गको चौडाइ आठ मिटर हुने र केन्द्रबाट दायाँबायाँ २५–२५ मिटरको सडक सीमा छोड्नुपर्ने उल्लेख गरिएकाले त्यसो गर्दा आफूहरुको घर, घडेरी र जमिन पूर्णरुपमा क्षति भएर सुकुम्वासी हुने उनीहरुको भनाइ छ । स्थानीयवासीले यो क्षेत्र बजार क्षेत्र भएकाले त्यसो गर्दा ठूलो क्षति हुने भन्दै बरु आफूहरु लोकमार्गका लागि १५ मिटरको बाटो छाड्न तयार रहेको विकल्पसमेत दिएका छन् । अन्यथा आफूहरु सुकुम्वासी हुने भएकाले कम क्षति हुनेगरी ट्र्याक परिवर्तन गर्न आफूहरुले माग गरेको अध्यक्ष खत्रीले बताए। “संविधानमा आवासको अधिकारलाई मौलिक हकका रुपमा राखिए पनि एकथरी नागरिकलाई सुविधा दिने नाममा अर्को नागरिकको बास खोस्न मिल्दैन”, अध्यक्ष खत्रीले हामी विकास विरोधी हैनौँ, कम क्षति गरेर निर्माण गरौँ मात्रै भनेको हो भने  ।

स्थानीयवासीले विकास आयोजना निर्माण गर्दा कुनै व्यक्तिको क्षति भएमा कानुनबमोजिम क्षतिपूर्ति वा मुआब्जा दिनुपर्ने भएपनि राज्यले आफ्नो शक्तिको आडमा जबर्जस्ती व्यक्तिगत सम्पत्तिमा आक्रमण गर्न खोजेको आरोप लगाएका छन् । “लोकमार्ग जिल्लाको सदरमुकाम भएर जानु राम्रो कुरा हो”, प्रभावित क्षेत्रका स्थानीयवासी उदयराज लिम्बूले भने, “तर मुख्य बजार भएर लोकमार्गबारे आएका समाचारमा उल्लेख भएजस्तै भए दशकौँअघि देखिको बजार नै पूर्णरुपमा विस्थापित हुन्छ ।