प्रचण्डले आयोगसँग जवाफ मागे

0
13

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण हुन नसक्नुको कारणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग जवाफ मागेका छन् । आयोग स्थापनाको २६ वर्ष पुगिसक्दा पनि भ्रष्टाचार नियन्त्रण हुन नसकेको भन्दै उनले आत्ममूल्यांकन गर्न निर्देशनसमेत दिए ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगको २६ औं स्थापना दिवस कार्यक्रमलाई आज राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले  आयोग स्थापनाको २६ वर्ष भनेको लामो अवधि हो । यति लामो अवधिसम्म पनि किन भ्रष्टाचार नियन्त्रण हुन सकेन ? आयोगले आत्ममूल्याकंन गर्नुपर्ने अवस्था आएको छ भने।

भ्रष्टाचारको विकृति रोक्न अहिलेसम्म भएका प्रयासले केही सकारात्मक नतिजा देखाएको भएपनि भ्रष्टाचारमुक्त समाज निर्माणका लागि अझै धेरै गर्न बाँकी रहेको बताउदै उनले भ्रष्टाचार नियन्त्रण सम्बन्धी अभियानमा सरकारी तथा गैरसरकारी क्षेत्र, नागरिक समाज, सञ्चार जगत लगायतका सरोकार पक्षहरूबीच थप सहकार्य र साझेदारी विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए ।

भ्रष्टाचार नियन्त्रण सरकार वा आयोगको मात्र दायित्व नभई आचरण र जीवनशैलीसँग समेत जोडिएको विषय भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी सबैले सदाचार जीवनशैली अवलम्बन गर्न सकेमा धेरै हदसम्म भ्रष्टाचार न्यूनीकरण भएर जान्छ भन्ने यथार्थलाई हामीले आत्मसात गर्नु आवश्यक छ ।’ आफ्ना काम कारवाहीलाई पारदर्शी र प्रभावकारी बनाउन आयोगले पर्याप्त ध्यान पुर्‍याउने उनले विश्वास व्यक्त गरे । अनुसन्धान गर्दा व्यक्तिको प्रतिष्ठाप्रति संवेदनशील हुने, निरपराध व्यक्ति सजायको भागी बन्नु नपर्ने र अपराधी उम्कन नपाउने गरी आयोगले आफ्नो पूर्ण क्षमताको उपयोग गर्नुपर्नेमा उनले जोड दिए ।