नेपाल टेलिकमको प्रिपेड मोबाइलमा भोलिबाट फोर-जी

0
21

नेपाल टेलिकमले भोलि शनिबारदेखि जीएसएम प्रिपेड ग्राहकलाई पनि फोर-जी सेवा दिने भएको छ । पोष्टपेडमा फोर-जी दर्ता गर्ने ग्राहकको संख्या बढ्दै गर्दा टेलिकमले फोर-जी सेवा दिन लागेको हो । काठमाडौं र पोखराका प्रिपेड ग्राहकलाई  मात्र यो सेवा उपलब्ध हुनेछ ।

गत पुस १७ गतदेखि टेलिकमले काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई फोर-जी सेवा दिन सुरु गरिसकेको छ । अब टेलिकमको वाषिर्क उत्सवका अवसर पारेर फोरजीको प्रिपेडमार्फत ब्यवसासयिक लञ्चिङ गर्न लागिएको हो । भोलिबाट फोर-जी सेवा पिप्रेड मोबाइलमा पनि विस्तार गर्ने  अन्तिम तयारीमा रहेको टेलिकमले जनाएको छ ।

टेलिकमले ३९ करेाड रुपैयाँ बराबर खर्चिएर फोर-जी सेवा प्रारम्भ गरेको थियो । काठमाडौंमा फोर-जीका लागि काठमाडौंमा ३ सय ८ वटा बिटीएस टावरलाई अपग्रेड गरिएको छ भने पोखरामा ७९ वटा टावरको स्तरोन्नति गरिएको थियो। पोखराको लेकसाइड र न्युरोड क्षत्रेमा मात्रै अहिले फोर-जी नेटवर्क उपलब्ध छ ।

१८०० मेगाहर्ज ब्याण्डमा कम्पनीले प्रयोग गरेको १५ मेगाहर्जको ब्याण्डविथलाई रिफर्मिङ गरी ५ मेगाहर्जलाई फोर जीका लागि र १० मेगाहर्ज जिएसएमका लागि प्रयोग गरिएको छ ।यसअनुसर फोर-जीले अधिकतम् ३२.४ एमबीपीएस गतिको डाटा उपलब्ध गराउँछ । यसलाई १०० एमबीपीएस बनाउन टेलिकमले ५ मेगाहर्ज ब्याण्डविथ थप गर्ने तयारी गरेको छ ।आइफोन-सिक्स र सेभेन सिरिज लगायतका केही सेटमा फोर-जी सपोर्ट नगरेपनि फोरजी सेवा लिनको संख्या दैनिक रुपमा बढिरहेको छ ।

यसैबीच टेलिकमले कुनै समयमा निकै चर्चित रहेको कल रिङ ब्याक टोन (सिआरबिटी)सेवा पनि फेरि सुचारु गर्ने भएको छ । केही समयअघिदेखि यो सेवा बन्द थियो । अब भाेलिबाटै यो  सेवा पनि सुरु हुनेछ । टेलिकमले वार्षिक उत्सवको अवसर पारेर आफ्ना ग्राहकका लागि विभिन्न छुट तथा आकर्षक योजनाको घोषणा पनि शनिबार गर्नेछ ।