अब काठमान्डौको सडक भ्यकुमक्लिनरले सफा गर्ने

0
56
सडकको धुलाम्य अवस्थाको चौतर्फी आलोचना भएपछि मेलम्ची खानेपानी वितरणका लागि पाइप विछ्याउने क्रममा खनेर धुलाम्मे भएका काठमाडौंका सडक सफा गर्न बढार्ने मेसिन ‘ब्रुमर’ प्रयोग हुने भएको छ। खानेपानी तथा सरसफाई मन्त्रालयले धुलो कम गर्न उक्त भ्याकुम सहितको मेसिन प्रयोग गर्न लागेको हो। मन्त्रालयका सचिव भिम उपाध्यायका अनुसार मन्त्रालयले सडक विभागसँग भएका तीनवटा कुचोसहितका भ्याकुम क्लिनर माग गरेको छ। जसको संचालन खर्च, इन्धन आफैले व्यहोरेर मन्त्रालयले प्रयोगमा ल्याउने छ ।
 
‘विभागसँग थन्किएर रहेका तीन ब्रुमर उपलब्ध गराउन अनुरोध गरेका छौँ, ति ब्रुमर आएपछि उपत्यकाका सडक सफा गर्न थाल्नेछौँ’ उपाध्यायले बताउनु भयो । प्रधानमन्त्री कार्यालयमा यसअघि भएको छलफलपश्चात मन्त्रालय र विभागबीच समन्वय गरेर सडक सफा गर्ने सहमति भएको उनले जानकारी दिए। मेलम्चीको पाइप विस्तारका क्रममा खनिएका सडक सात दिनभित्रै ढुंगामाटोले भरेर ग्राभेल गरिएपनि सडकभरि धुलो फैलिएको छ। छेउमा खन्दा पनि सडकभरि धुलो भएपछि तत्कालका लागि ब्रुमरले सडक मात्रै सफा गर्नेछ। 
 
यद्यपी ब्रुमरले सडक सफा गरे पनि त्यो प्रभावकारी भने हुँदैन । जबसम्म खनिएको स्थानमा पिच गरिँदैन र सडकपेटी तथा वरिपरीको क्षेत्र धुलोमुक्त हुँदैन, तवसम्म सडक मात्रै बढारेर धुलोमुक्त नहुने स्वयम् उपाध्याय पनि स्विकारोक्ती गर्नु हुन्छ । ‘ब्रुमर मेसिनले धुलो सोस्ने भएकाले हाल विद्यमान अवस्थामा केही हदसम्म सुधार हुने हाम्रो विश्वास छ’ उपाध्यायले भन्नु हुन्छ । सडक विभागका उपमहानिर्देशक दयाकान्त झाले विभागसँग रहेका तीन ब्रुमरमध्ये एक मेलम्ची खानेपानी आयोजनालाई दिइने र बाँकी दुई वटा समन्वय गरेर प्रयोग गरिने बताउनु भयो । सरकारी निकायबीच सहकार्य गरी सडकको धुलो व्यवस्थापन गर्ने सम्वन्धमा छलफल भइरहेको बताउदै विभागसँग भएका ब्रुमर यसअघि सार्क शिखर सम्मेलन आयोजनाका क्रममा प्रयोग भएको जनाकारी दिनु भयो ।सडक बढार्ने यस्ता मेसिन छिमेकी भारतसहितका विभिन्न राज्यहरुमा भने व्यापकरुपमा प्रयोग गर्ने गरिएको छ।
 
मेलम्चीको खानेपानी आयोजना अन्तर्गत ७ सय ६० किलोमिटर पाइप विछयाइसकिएको छ। जसले यतिबेला राजधानीको किलोमिटर सडक धुलाम्मे भएको छ।  सडक बढार्ने ब्रुमर कुचो सहितको भ्याकुम क्लिनर हो। जसको मद्दतले सडकमा रहेको धुलो सफा गर्न सकिन्छ। भारतसहितका देशमा भने १९ औँ शताब्दीदेखि नै यस्तो उपकरण प्रयोग हुन थालेको हो। वातावरणलाई असर नपर्नेगरी कम समयमा सडकको धुलो नियन्त्रणमा ल्याउन यो ब्रुमर निकै उपयोगी हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस