प्रधानमन्त्री,सत्ता साझेदार दल, मधेसी मोर्चाविच गहन छलफल

0
22

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन, स्थानीय निकायको निर्वाचनलगायत विषयमा दलीय परामर्श गर्ने भएका छन्। प्रधानमन्त्रीले आज बिहान सत्ता साझेदार दल नेपाली कांग्रेस र मधेसी मोर्चासहितको गठबन्धनलाई छलफलका लागि बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बसिरहेको बैठकमा संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक, स्थानीय निकायको निर्वाचन आदि विषयमा छलफल हुँदै छ ।

संविधान संशोधनलगायत विषयमा छलफल गर्न प्रधानमन्त्रीले मोर्चालाई बालुवाटार बोलाएको मोर्चाको एक घटक राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले हाम्रो सेरोफेरोलाई जानकारी दिनु भयो ।उहाले संशोधनको टुङ्गो नलागेसम्म कुनै पनि निर्वाचनको अर्थ नहुने भन्दै मोर्चाले बैठकमा यिनै विषयमा जोड दिने बताउनु भयो । स्थानीय निर्वाचन नहुँदा संविधान कार्यान्वयनमा जटिलता आउने र प्राप्त उपलब्धि गुम्ने खतरा औंल्याउँदै प्रधानमन्त्री दाहालले मोर्चालाई फकाउने कसरत गरिरहेको बताउदै अनौपचारिक कुराकानीका क्रममा मधेसी नेताहरूलाई संविधान संशोधन विधेयक अगाडि बढ्न नदिन एमालेको अडान, संशोधनका लागि आफूले गरेको प्रयास, संशोधनको पक्ष र विपक्षमा संसद्मा देखिने सांसदको संख्यालाई देखाएर दाहालले मधेसी मोर्चालाई सम्झाउन प्रयास गरिरहेको जानकारी दिनु भयो ।

स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा मधेसी मोर्चाले स्वामित्व ग्रहण गरेको छैन। संशोधनमा प्रमुख प्रतिपक्ष एमालेसहितका विपक्षी दलबाट सहयोग नपाएपछि दाहालले मोर्चाका नेतालाई नै फकाउने रणनीति बनाएका छन्। मधेसकेन्द्रित दललाई बाहिर राखेर गरिने चुनावको औचित्य नहुने निष्कर्षमा रहेका दाहालले उनीहरूका माग सम्बोधन गर्ने विभिन्न विकल्पका बारेमा छलफल गरिरहेका छन्। कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताले आइतबार निर्वाचन मिति घोषणा हुने गरी छलफल अगाडि बढाएका थिए।

तीन दलका नेताको समझदारीअनुसार निर्वाचन मिति घोषणा गरे आफूहरू आन्दोलनमा उत्रने चेतावनी मधेसी मोर्चाका नेताले दिएपछि दाहाल अप्ठ्यारोमा पर्दै आएका छन् । उनले आइतबारसम्म निर्वाचन मिति घोषणा हुने अभिव्यक्ति सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस