नुनको किलोमा ५ रुपैयाँ घाटामा छ साल्ट ट्रेडिङ

0
11

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सरकारसमक्ष नुनको मूल्य बढाउन प्रस्ताव गरेको छ । सरकारले आफूलाई ३५ करोड अनुदान दिए भाऊ नबढाइने साल्ट ट्रेडिङको शर्त छ । नून आयात लागतभन्दा मूल्य निकै सस्तो भएको भन्दै साल्ट ट्रेडिङले प्रतिकिलो ७ रुपैयाँसम्म मूल्य बढाउन प्रस्ताव गरेको हो । यदि साल्ट ट्रेडिङले माग गरेअनुरुप मूल्य बढाउने निर्णय भएमा अब नुनको मूल्य १८ रुपैयाँबाट बढेर प्रतिप्याकेट २५ रुपैयाँ हुनेछ ।आपूर्ति मन्त्रालयमा साल्ट ट्रेडिङले नुनको मूल्य लागतभन्दा कम हुँदा संस्थानलाई वर्षमा ३५ करोड रुपैयाँ घाटा भइरहेको जानकारी गराएको छ । तर, सरकारले यसबारे औपचारिक निर्णय भने गरेको छैन । आयोडिनयुक्त नुनको मूल्य बढाउन साल्ट ट्रेडिङले प्रस्ताव ल्याएको, त्यसबारे अध्ययन भइरहेको आपूर्ति मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठले जानकारी दिए । ‘नुन दैनिक उपभोग्य वस्तु भएकाले यसको मूल्य बढाउनुअघि आवश्यक अध्ययन गर्नुपर्छ’ श्रेष्ठले भने,’यसको आवश्यकता, औचित्य हेरेर आवश्यक निर्णय हुन्छ ।’

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड नुनको किलोमा ५ रुपैयाँ घाटा

नुनको मूल्य बढाउन मुख्य सचिवको अध्यक्षतामा रहेको केन्द्रीय अनुगमन समितिले निर्णय गर्नुपर्छ । साल्ट ट्रेडिङलाई नुनकै कारण करोडौंको घाटा भइरहेकाले मूल्यवृद्धिको बाध्यता सिर्जना भएको प्रवक्ता कुमारराज भण्डारीको दावी छ ।उनले खरिद तथा आयात लागत बढेकाले मूल्य बढाउनुपरेको भन्दै नागरिकलाई न्युनतम् मूल्यमा नुन उलपब्ध गराउन आफूहरु प्रतिवद्ध रहेको बताए । साल्ट ट्रेडिङलाई नुन किलोमा झण्डै ५ रुपैयाँ घाटा छ ।

‘अहिले नुन भित्र्याउँदा प्रतिप्याकेट २१ रुपैयाँसम्म लागत परिरहेको छ । तर, डिलरलाई १६ रुपैयाँ ५० पैसामा नुन दिइरहेका छौं । १८ रुपैयाँ ५० पैसासम्म उपभोक्ता मूल्य छ ।’ राजभण्डारीले भने,’नुनको मूल्य अस्वभाविक रुपमा बढ्नु हुँदैन । तर, संस्थान नै घाटामा बसेर नुन कारोबार गर्न नसकिने अवस्था आएकाले प्रस्ताव अघि बढाइएको हो ।’

प्रतिक्रिया दिनुहोस