स्ववियु चुनावमा एक पटकका लागि उमेर हद नलगाउ-अध्यक्ष नैनसिंह महर

0
19

नेपाल विद्यार्थी संघले उमेर हद नहटाए स्ववियु चुनावमा भाग नलिने घोषणा गरेको छ । स्ववियु चुनावमा २८ वर्षे उमेर हद तोकेर त्रिभुवन विश्वविद्यालयले गम्भीर भूल गरेको नेविसंघको आरोप छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी नेविसंघ जिल्ला कार्यसमिति काठमाडौंका सभापति मनोज वैद्यले उमेर हद तोकेर स्ववियु निर्वाचन गराउँछु भन्नु दिवा सपनामात्र हुने टिप्पणी गरे । आफूहरु फागुन १४ गते स्ववियु चुनाव हुनुपर्ने पक्षमा भए पनि उमेर हदको विपक्षमा रहेको उनले प्रष्ट पारे ।‘हामी फागुन १४ गते नै निर्वाचन हुनपर्छ भन्नेमा छौं । तथापि चुनावको मिति घोषणा गर्दा कुनैपनि विद्यार्थी संगठनहरूका प्रतिनिधिहरूलाई बैठकमा नराखेर विश्व विद्यालयले गम्भीर भूल गरेको छ ।’

कार्यक्रममा उपाध्यक्ष सागर परियारले मिश्रित चुनाव प्रणाली र उमेरको हद तोकेर गरिने स्ववियु निर्वाचनमा नेविसंघले भाग नलिने बताए । उनले जबरजस्ती गर्न खोजे त्यसको प्रतिकार गर्ने चेतावनी समेत दिए । अर्की उपाध्यक्ष उर्मिला थपलियाले विद्यार्थी हुनका लागि उमेर आवश्यक नभए जस्तै विद्यार्थी आन्दोलन र विद्यार्थीको हकहितको लागि काम गर्नको लागि गठन हुने स्ववियुमा पनि उमेर हद तोकिन नहुने तर्क गरिन् ।यस अघीनै ने बि संघ अध्यक्ष नैन सिंह महरले त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि लागू गरेको २८ वर्षे उमेर हदसम्बन्धी व्यवस्था एक पटकका लागि हटाउन माग गर्नु भएको थियो । ने बि संघको केन्द्रिय कार्यालयमा पत्रकार सम्वेलन गरेर स्ववियु चुनावको तयारीका लागि सात हजार एक सदस्यीय मुल व्यवस्थापन समिति समेत गठन गरिसकेको बताउदै अध्यक्ष महरले स्ववियु निर्वाचनमा उमेर हद तोकिँदा लामो समयदेखि क्याम्पसमा क्रियाशील विद्यार्थीहरुको भविष्यबारे पनि ख्याल गर्न आग्रह गर्नु भएको थियो । हरेक एक वर्षमा चुनाव हुनुपर्ने र एक वर्ष थप्न सकिने प्रावधान रहेको संस्था (स्ववियु) आज आठ-आठ वर्षसम्म पनि नहुँदा समस्याग्रस्त भएको भन्दै आज, यो वर्ष, अर्को वर्ष, अर्को वर्ष भन्दाभन्दै आफ्नो जीबनको एक दशक लामो उर्बर समय साथीहरुले क्याम्पसमा बिताएका छन् । त्यसका कारण उनीहरुको पनि भविष्यको ख्याल गरिनुपर्दथ्यो भन्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस