नेपालको स्याटेलाइट राख्न २० कम्पनीले इच्छा देखाए

0
19

नेपालको स्याटेलाइट राख्न २० कम्पनीले इच्छा देखाएका छन् । प्राधिकरणको स्याटेलाइट टेण्डरमा २० कम्पनीले प्रस्ताव पेस गरेका छन् । प्रस्ताव पेस गर्ने कम्पनीहरुमा अमेरिका र चीनका ३-३ वटा कम्पनी छन् । भारत, थाइल्यान्ड र सिंगापुरका २-२ तथा फ्रान्स, जापान, कोरिया, रुस, क्यानडा, इजरायल, साउदी अरब र लक्जेम्बर्गका एक-एक वटा कम्पनीले इच्छा देखाएका छन् । अहिले कम्पनीहरुको प्रस्ताव मूल्यांकन चलिरहेको ।

नेपालको स्याटेलाइटका लागि आइटियूले ५० डिग्री र १ सय २३.३ डिग्री पूर्वी देशान्तरको ‘अर्बिटल स्लट’ अन्तरिक्षमा छुटि्टएको छ । अहिले यिनै स्लटहरुमा स्याटेलाइट राख्न लागिएको हो ।तर, त्यो स्लट र डिग्री उपयुक्त छ कि छैन भन्ने नै सुरुवातमा अध्ययन गर्नुपर्ने हुन्छ ।सञ्चारमन्त्री राम कार्कीले आफू पुग्ने सबै कार्याक्रममा स्याटेलाइट राख्न लागिएको चर्चा गर्न छुटाउँदैनन् । नेपालले अहिले आफ्नै स्याटेलाइट राख्ने विषय निकै चर्चामा छ । तर, नेपालले कसरी स्याटेलाइट अन्तरिक्षमा पुर्‍याउँदैछ ? भन्ने आमचासो छ । आफ्नै स्याटेलाइट भएपछि नेपाललाई के फाइदा हुन्छ ? आम नागरिकका लागि त्यसले अर्थ राख्छ ? भन्ने जिज्ञाशा धेरैको छ । धेरैलाई त नेपाललाई स्याटेलाइट राख्ने अधिकार कसरी दिइएको छ भन्नेमा पनि अनविज्ञ छन् ।त्यसैले कतिपयले यसलाई महत्वकांक्षी भनेका छन् । खासमा नेपालले आफ्नै स्याटेलाइट राख्न ढिला भइसकेको दूरसञ्चारविद् बताउँछन् । आफ्नै स्याटेलाइट राख्न नेपाललाई अधिकार प्राप्त भएको लामो समय भइसकेको हो ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) ले स्याटेलाइटका लागि धेरै अघि ‘अर्बिटल स्लट’ (स्याटेलाइट राख्ने स्थान) छुट्याइदिएको हो । झण्डै २२ वर्ष ढिला गरेर भएपनि नेपालले आफ्नै स्याटेलाइट राख्न लागेको छ ।नेपाल दूरसञ्चार प्राधिकरणले यसका लागि टेण्डर आह्वान गरेर कम्पनी छनोटको प्रक्रिया अघि बढाएको छ । तर, योजनाअनुसार काम भयो भने नेपालको स्याटेलाइट अन्तरिक्षमा पुग्ने कुरा धेरै पर भने छैन । अहिले यसका लागि २० वटा कम्पनीले स्याटेलाइट राख्न इच्छा देखाउँदै टेण्डर आवेदन गरेका छन् ।अब टेण्डर जित्ने कम्पनीले सुरुमा ती अर्बिटल स्लटबारे अध्यन गर्नेछन् । स्लटको अवस्था हेरेर स्टोलाइटको डिजाइन गर्नेछन् । र स्याटेलाइट तयार गरेर त्यसलाई अन्तरिक्षमा स्थापना गर्नेछ । त्यही कम्पनीले सञ्चालन र मर्मतको जिम्मा पनि लिने दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्याल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस