एमाले र राप्रपाको चुनाव चिन्ह जोगाउन विधेयकको दफा नै ‘डिलिट’

0
29

स्थानीय निर्वाचन, राजनीतिक दल र मतदाता नामावली सम्बन्धी पाँचओटा बिधेयकमा सहमति कायम गर्ने प्रयासमा दलहरु जुटेका छन् । सोमबार राज्य व्यवस्था समितिले केही विधेयकमा आवश्यक संशोधन गर्न सहमति जुटाउनेछ ।

राज्य व्यवस्था समितिले निर्वाचनसम्वन्धी विधेयक टुंगो लगाउन गत पुस ९ गते कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो । एक महिनाको बीचमा उपसमितिको १५ पटक बैठक बसेर धेरैजसो विषयमा सहमति जुटाएको सदस्य रामेश्वर फुयाँलले बताए ।उनका अनुसार राष्ट्रिय चिन्हसँग मिल्ने चुनाव चिन्ह कायम नहुने प्रस्तावको दफा नै हटाइएको छ ।

निर्वाचन आयोगले तयार पारेको राजनीतिक दलसम्वन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक-०७३ को मस्यौदामा राष्ट्रिय झण्डा वा चिन्ह प्रयोग गर्ने राजनीतिक दल चुनावका लागि दर्ता हुन नसक्ने व्यवस्था छ । निर्वाचन आयोगको प्रस्ताव हुवहु पाए भएको भए नेकपा एमालेको सूर्य र राप्रपाको गाई चुनाव चिन्ह खोसिने थियो ।एमाले र राप्रपाले आयोगको यो प्रस्ताव हटाउन माग गर्दै आएको थियो । सो दफाले अहिले कायम रहेका धेरै दलका चुनाव चिन्ह प्रभावित हुने देखिएकाले प्रस्तावित बुँदा नै हटाइएको उपसमिति सदस्य फुयाँदलले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस