मुखर्जी आउँदा विदा, पृथ्वीजयन्तीमा किन ?, क्रिश्चियनहरु भन्दा सारा नेपाली महत्वहिन् ?

0
26

मुखर्जी आउँदा विदा, पृथ्वीजयन्तीमा किन ?-सामाजिक सञ्जालमा प्रश्न मंगलबार सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा सरकारले सार्वजनिक विदा दिएकोमा आलोचना गर्नेहरु प्रशस्तै थिए । मुखर्जी आउँदा सरकारी विदा घोषणा गर्ने प्रचण्ड सरकारले पृथ्वी जयन्तीमा सरकारी विदा नदिने निर्णय गरेको भन्दै सरकारको आलोचना गर्नेहरु पनि देखिएका छन् । पृथ्वी जयन्तीमा सरकारी विदा दिइनुपर्ने माग गर्नेहरुमा राप्रपा समर्थकहरुमात्रै होइन, कांग्रेस र एमाले निकट जनमानस पनि देखिएको छ ।

मंगलबार बेलुकासम्म धेरै नेपालीहरुलाई लागेको थियो, नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिनमा पुस २७ गते सरकारी विदाको घोषणा हुनेछ ।तर, मंगलबार साँझसम्म गृहमन्त्रालय कानमा तेल हालेर सुतेपछि अब पौष २७ मा सरकारी विदा नहुने निश्चित भएको छ । सरकारको क्यालेण्डरमा क्रिश्चिनहरुको महान चाड क्रिसमस डेमा राष्ट्रिय विदा उल्लेख गरिएको थिएन । क्रिश्चियन धर्मावलम्बीहरुले उक्त दिन क्रिश्चियन धर्मावलम्बीका लागिमात्रै नभएर सबैका लागि विदा दिन दबाव दिएको थियो ।

अन्ततः क्रिसमसको अघिल्लो दिन साँझ पर्नै लाग्दा गृहमन्त्रालयले सार्वजनिक विदाको घोषणा गरेको थियो । यसरी विदा दिनका लागि क्याबिनेट पनि बसेन र गृहमन्त्रीबाटै निर्णय भयो । तर, पृथ्वीजयन्तीमा सरकारी विदा घोषणा गर्नका लागि भने सरकारले निकै ठूलो कञ्जुस्याइँ गर्‍यो । क्रिश्चियनहरु भन्दा पनि ठूलो संख्यामा नेपालीहरु पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताका प्रतीक मान्छन् र उक्त दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइनुपर्ने आवाज उठाउँदै आइरहेका छन् । तर, क्रिश्चियनको मागलाई सम्बोधन गर्ने सरकारले यती ठुलो समुदायको भावनालाई बेवास्ता गर्‍यो ।

पृथ्वीनारायण शाहको सम्झनामा प्रत्येक वर्ष पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने प्रचलन रहँदै आएकोमा गणतन्त्र आएपछि सरकारले विदा दिने प्रचलन हटाएको हो । गणतन्त्रमा राजा महाराजका नाममा विदा दिने प्रचलन अनुपयुक्त भएकाले विदा कटौती गरिएको सरकारी पक्षको तर्क छ ।

अर्कोतर्फ कतिपय मधेसी, आदिवासी-जनजाति समूहको प्रतिनिधित्व गर्ने दलका नेता तथा कार्यकर्ताहरु पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माताका रुपमै स्वीकार्न हिच्किचाउँछन् । उनीहरु पृथ्वीनारायणले बलपूर्वक खस राज्यको स्थापना गरेको र अन्य जातिलाई दमन गरेको हुनाले उनलाई राष्ट्र निर्माता हैन कि साम्राज्यवादी एवं दमनकारी व्यक्तिका रुपमा लिने गर्छन् । मधेसमा पनि विखण्डनबारी सिके राउतले यस्तो विचार राख्छन् । र, कतिपय मधेसी मोर्चाका नेताहरु पनि सिके राउतकै विचारलाई अन्धसमर्थन गर्दै पृथ्वीनारायणको निन्दा गर्ने गर्छन् ।