पूर्व-पश्चिम महेन्द्र राजमार्गमा पुल भाचियो 

0
23

पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको देवचुली–१२ दलदले स्थित बौलाहा खोलाको पुल आज बिहान भाँचिएको छ। ट्रकले ठक्कर दिँदा आज बिहान पुल भाँचिएको हो। बिहान ३ बजे पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना६ख ३०१७नम्बरको ट्रकले पुलको पूर्वपट्टि भागमा ठक्कर दिँदा बायाँतर्फको भाग एक फिट तल लच्किएर  झोलुङ्गो जस्तो बनेको छ। 

पुल भाँचिएपछि यात्रुबाहक बस र मालबाहक ट्रक अलपत्र बनेका छन्। साना हल्का सवारी साधन भने पुल भाँचिएको भागभन्दा अर्को भागबाट सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । बौलाहा खोलामा डाइभर्सन निर्माण गरेर सो डाइभर्सन मार्फत् एकतर्फी यातायात सञ्चालन गरिएको छ ।

पुल भाँचिएपछि पूर्वपश्चिम राजमार्गको रजहर र कावासोतीसम्म सवारी साधनको लाम लागेको छ। भरतपुर कलेज पढ्न जाने विद्यार्थीसमेत रोकिएको विद्यार्थी झलक पौडेलले बताए। कार्यालय समय अगाबै डाइभर्सन बनाउने गरी काम थालिएको प्रहरीले जनाएको छ। यातायातका साधनहरु बीच बाटोमै रोकिँदा हजारौं यात्रु अलपत्र परेका छन् । स्कुल बस, एम्बुलेन्स र अतिआवश्यक सवारी साधनहरु पनि सञ्चालन हुन सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस