क्रिस्टियानो रोनाल्डो वर्षको उत्कृष्ट खेलाडी

0
11

फिफा बेस्ट फुटबल अवार्डको पहिलो संकरणमा क्रिस्टियानो रोनाल्डो वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।जुरिचमा आयोजित समारोहमा ३१ वर्षीय रियल म्याड्रिड र पोर्चुगलका फरवार्ड रोनाल्डोले ला लिगाका प्रतिद्वन्द्वी बार्सिलोनाका लियोनेल मेस्सी र एथ्लेटिको म्याड्रिडका एन्टोनी ग्रिजमानलाई पछि पार्दै उपाधि जमाएका हुन् ।लेस्टर सिटीका प्रशिक्षक क्लाउडियो रानिएरी उत्कृष्ट पुरुष टोलीको प्रशिक्षक तथा जमर्नीकी पूर्व प्रशिक्षक सिल्भिया नेइडले महिला फुटबल प्रशिक्षकको उपाधि जितिन् । पेनाङका मोहद फाइज सुब्रीले उत्कृष्ट गोलका लागि पुस्कास अवार्ड हासिल गरे ।सन् २०१६ रोनाल्डोको लागि उत्कृष्ट रह्यो । च्याम्पियन्स लिगमा रियलका लागि निर्णायक पेनाल्टी गरेका रोनाल्डोले क्लब विश्वकपको फाइनलमा ह्याट्रिक गरेका थिए । त्यस्तै आफ्नो देशलाई सन् २०१६ को युरोकपको ट्रफी दिलाए ।


यसबापत उनले चौँथो पटक बालोन डि’ओरको उपाधि जिते । र, मेस्सीले हालसम्म नजितेको फिफाको उत्कृष्ट खेलाडीको उपाधि पनि हात पारे ।म्यान्चेस्टर युनाइटेडका पूर्व खेलाडीले गत वर्ष ४४ खेलमा ४२ गोल गर्नुका साथै १४ वटा गोलको अवसर सृजना गरे । च्याम्पियन्स लिगको २०१५–१६ सिजनमा उनले १६ गोल गर्दै सर्वाधिक गोलकर्ता बने ।

‘सन् २०१६ मेरो लागि अहिलेसम्मकै उत्कृष्ट वर्ष रह्यो,’ रोनाल्डोले भने, ‘पोर्चुगलका लागि ट्रफी जित्नु अविस्मरणीय थियो । रियलका लागि च्याम्पियन्स लिग र क्लब विश्वकप जितेको पनि म विर्सन सक्दिन । हामीले अघिल्लो वर्ष उत्कृष्ट तरिकाले अन्त्य गर्यौँ । मैले यति धेरै ट्रफी जितेकोमा खुसी छु । म निकै गर्वान्वित छु ।’

यसअघि झैँ रोनाल्डो र मेस्सीले एक अर्कालाई भोट गरेनन् । दुवै खेलाडीले क्लबका समकक्षीलाई भोट गरे ।

११ उत्कृष्ट 

उत्कृष्ट खेलाडीको टप तीनमा परेर पनि ग्रिजमान फिफ्प्रो वल्र्ड ११ मा अटाएनन् । उत्कृष्ट ११ मा रियलका ५, बार्सिलोनाका ४, युभेन्टस र बायर्न म्युनिखबाट १–१ खेलाडी परे ।प्रिमियर लिगबाट एक पनि खेलाडी यसमा अटाएनन् ।फिफाको उत्कृष्ट ११ मा रोनाल्डोसहित मेस्सी, लुइस सुवरोज, आन्द्रेस इनियेस्टा, टोनी क्रुस, लुका मोड्रिच, मार्सेलो, सर्जियो रामोश, जेरार्ड पिके, ड्यानी आल्भेस, म्यानुअल नुयर समावेश पर्न सफल भए ।यता, उत्कृष्ट महिला खेलाडीको उपाधि अमेरिकाकी कार्ली लोयडले हात पारिन् ।बोरुसिया डर्टमण्ड र लिभरपुलका समर्थकले उत्कृष्ट समर्थकको उपाधि जिते । दुवै टोलीले अप्रिलमा भएको युरोपा लिगको क्वाटर फाइनलमा सँगै ‘यु विल नेभर वाक अलोन’ गीत गाएका थिए ।

त्यस्तै कोलम्बियाको एथ्लेटिको न्यासिनोललाई फेयर प्ले अवार्ड दिइयो । विमान दुर्घटनामा खेलाडी गुमाएको प्रतिद्वन्द्वी टोली च्यापेकोएन्सेलाई सुडा अमेरिकानाको ट्रफी दिन पहल गरे बापत क्लबलाई सम्मानित गरिएको हो ।रोनाल्डोले उपाधि जित्ने भएपछि मेस्सीसहित बार्सिलोनाका खेलाडीहरु अनुपस्थित रहे । ४८ घण्टापछि एथ्लेटिको बिल्बाओविरुद्ध महत्वपूर्ण कोपा डेलरेको खेल भएको कारण देखाउँदै क्लबले समारोहमा भाग लिएन । 

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस