राष्ट्रिय बीमा संस्थान ५२औं वर्षमा प्रवेश

0
6

सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५२औं वर्षमा प्रवेश गरेको छ । संस्थान ५२औं वर्ष प्रवेश गरेको अवसरमा शनिबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको बीमा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै अहिलेसम्मका उपलब्धीलाई संस्थागत गर्दै समयानुकूल सेवा प्रवाहमा ध्यान केन्द्रित गर्न आग्रह गरे ।

प्रतिस्पर्धी बन्दै गएका बीमाका योजनालाई समय सुहाउँदो बनाउँदै बीमकहरुसामु संस्थानले आफूलाई उतार्नुपर्ने आवश्यकता औंल्याउँदै उनले समयसापेक्ष अपडेटेड हुँदै अगाडि बढ्न आग्रह गरे । उपप्रधानमन्त्री पोखरेलले ग्रामीण जनसमुदायमा बीमाको पहुँच अत्यन्त न्यून रहेकाले बीमाको पहुँच विस्तारमा द्रुत्ततर गतिले आफूलाई विकास गर्नुपर्नेमा पनि जोड दिए ।

यस्तै कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरेले स्तरीय र दिगो खालको सेवा प्रवाहमा ध्यान दिन संस्थानको ध्यानाकर्षण गराए । बीमा समितिका अध्यक्ष चिरञ्जिीवी चापागाईंले बीमा संस्थान पूर्ण सरकारी स्वामित्वको भएकाले पनि दुर्गम क्षेत्रका जनतालाई पनि बीमाको पहुँचमा समेट्ने किसिमका योजना तर्जूमा गर्नुपर्नेमा जोड दिए ।

साथै उनले संस्थानमा कर्मचारी व्यवस्थापनदेखि दक्षता बढाउन, सूचना प्रविधिको भरपूर उपयोग गर्न र लेखा प्रणाली अद्यावधिक गराउँदै पारदर्शी बनाउनुपर्ने धारणा राखे । संस्थानको अधिकृत पुँजी रु.५० करोड र चुक्तापुँजी रु.१८ करोड १० लाख २० हजार रहेको संस्थानका प्रशासक कवि प्रसाद पाठकले जानकारी दिए ।

उनका अनुसार हाल संस्थानमा व्यक्तिगत जीवन बीमातर्फ दुई लाख ९८ हजार बीमित छन् । यस वर्षमा झण्डै तीन लाख राष्ट्रसेवक कर्मचारीहरुको समेत सावधिक जीवन बीमा थप गरिएको छ । अन्य ठूला बैंक तथा सार्वजनिक संस्थानका कर्मचारीहरुको बीमा समेत संस्थानले गर्दै आएको छ ।संस्थानमा सरकारको २७.७८, नेपाल राष्ट्र बैँकको ५५.५५ र नेपाल बैंकको १६.६७ प्रतिशत संस्थापक सेयर छ ।

प्रतिक्रिया दिनुहोस