पृथ्वी राजमार्ग मुग्लिन-पोखरा सडक फराकिलो बनाउने

0
70

सडक विभागले पृथ्वी राजमार्ग अन्तर्गत  मुग्लिन पोखरा सडकलाई पनि फराकिलो बनाउने भएको छ। एसियाली विकास बैंकको सहयोग आउने भएपछि मुग्लीन-पोखराको झण्डै ९३ किलोमिटर सडक विस्तारको विस्तृत डिजाइनिङ थालिएको सडक विभागले जनाएको छ । क्यानेडियन कम्पनी एमएमएम ग्रुपले मुग्लिन-पोखरा सडकको डिजाइनिङको जिम्मा पाएको छ र, उसले फिल्डमै पुगेर सडकको अवस्था हेरेर डिजाइन तयार गर्नेछ । यसका लागी  एडिबीले सहुलियत ब्याजदरमा ऋण दिने सैद्धान्तिक सहमति जनाएको छ ।

तर, ऋण सम्झौता भने भएको छैन । ‘नेक्स्ट’ प्रोजेक्टका रुपमा पोखरा पुग्ने सडकलाई स्तरउन्नति गर्न ऋण दिन एडिबी तयार रहेको सडक विभागका एक अधिकारीले बताए । केही समयभित्रै यो खण्ड विस्तारको मोडल तयार हुनेछ । भौगोलिक अवस्थालाई मध्यनजर गरेर यो सडकको डिजाइन हुने विभाग स्रोत बताउँछ । ‘यो सडक बन्ने क्षेत्रको भौगोलिक, वातावरणीय र पर्यावरणीय अवस्थाअनुसार सडकको डिजाइन हुनेछ’ विभागका अधिकारीले भने । सडक विस्तार भएपछि अन्य डिभाइडरको दुईतर्फ सडक ७-७ मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुनेछ

डिजाइनबाट नै यो सडकखण्ड कस्तो बन्ने भन्ने टुंगो लाग्ने भएकाले निर्माण मोडेलसहितका विषय केही समय पछि भन्न सकिने सडक विभागका अधिकारी बताउँछन् । सडक चार लेनको भएपनि बीचमा ग्रीनरीका लागि ‘मिडियम’ नराख्ने प्रारम्भिक तयारी छ । सडकलाई आधुनिक प्रविधिबाटै निर्माण गर्ने योजना छ, मुग्लिन पोखरा खण्ड विस्तारका लागि कति लागत लाग्छ भन्ने टुंगिएको छैन । डिजाइन सकिएपछि लागतबारे पनि अनुमान गर्न सकिने छ ।सडकखण्ड विस्तारपछि पोखराको महत्व झनै बढ्नेछ । त्यहाँ पुग्ने आन्तरिक तथा विदेशी पर्यटकलाई सडक यात्रा सहज हुनेछ । साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि यो सहयोगी हुनेछ भने यातायात सञ्जाल थप मजबुत र स्तरीय हुने विभागका अधिकारी बताउँछन् ।

विभागले बुटवल-नारायणगढ सडकखण्ड पनि ४ लनेको बनाउँदैछ । नारायणगढ-मुग्लिन सडक पनि विस्तारको लागि काम भइरहेको छ । मुख्य राजमार्ग फराकिलो पार्ने योजना अब पोखरासम्म पुग्न लागेको हो । यसले भारतबाट आउने पर्यटकलाई पनि पोखरा पुग्न निकै सहज हुनेछ । तर  आबुखैरहनी क्षेत्रमा पर्ने मर्स्याङ्दी जलविद्युत आयोजना क्षेत्रको सडक भने विस्तार नगरिने भएको छ । पर्यावरणीय हिसाबले यो क्षेत्र संवेदनशील रहेको विभागको ठहर छ ।