आज विवाह पञ्चमी

0
60

भगवान् सीता र रामको विवाह भएको सम्झनामा आज मुलुकभर विवाह पञ्चमी महोत्सव मनाइँदैछ । त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको थियो । त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह भएको मान्यताका आधारमा उत्सव मनाउने गरिएको । यस दिनलाई सम्झेर मिथिलावासीले  विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।sita-ram

त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीनटुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको धार्मिक ग्रन्थ रामायणमा उल्लेख छ । रामायणमा वर्णन भएअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा देवी देवताको समेत उपस्थिति थियो । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता शरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ  जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् । सो महोत्सव मनाउन मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक व्यवस्थाअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेषरूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पुर्याईन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ ।

रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीतारामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । त्यस अवसरमा निस्केको भगवानको डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ । देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ । उक्त महोत्सव पहिले जनकपुरमा एक महिनासम्म मनाउने गरिएकामा अहिले चार दिनमात्र मनाइन्छ ।

यस अवसरमा आज देशभरका राम मन्दिरमा पनि विवाह महोत्सव मनाइन्छ ।

 

प्रतिक्रिया दिनुहोस